
ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखे जात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखे जात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड-१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु माना भारा क्लबसहित आठ टोली सहभागी हुँदै छन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै पाँचथरबाट फिदिम स्पोर्टस् क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेड स्टार क्लबले सहभागिता जनाउँदै छन् । मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खरसाङ क्लबको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिता सञ्चालन गर्न खेलमैदान र प्यारापिट तयार गरिएको अध्यक्ष गुरुङले बताए ।
लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए ।
रासस/साङ्केतिक फोटो
वि.सं.२०८० भदौ १३ बुधवार ०७:३८ मा प्रकाशित