back
CTIZAN AD

केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु

वि.सं.२०८० भदौ १३ बुधवार

771 

shares

भजनी । कैलालीको टीकापुरमा केरामा देखिएको टिआर-४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमुना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखा परेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ । कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे । उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए । “हामीले नमुना लिएर परीक्षण गरेका बारीमा पुग्दा स्थिति डरलाग्दो छ । त्यहाँ ६०/६५ प्रतिशत बिरुवामा सङ्क्रमण फैलिएको छ”, डा खड्का भन्छन्, “रोग फैलिएको क्षेत्रमा नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ । अन्य क्षेत्रको स्थलगत अवलोकन गर्दा सङ्क्रमण फैलिएको पाइएको छ ।”

माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेनटाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । “रोगको सङ्क्रमण पुष्टि भइसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ । बारी बाहिरको सामग्री बारीमा नलिने र भित्रको सामग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ”, उनले भने, “विशेष गरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ ।”

कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ । कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ । बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफैँ जिम्मेवार हुनुपर्ने बताए । उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए ।

कैलाली केरा उत्पादक सङ्घका अध्यक्ष दीपेन्द्र थारुले रोगको सङ्क्रमण देखिएपछि किसान सचेत भएको बताए । “विगतमा पनि प्राकृतिक विपत्तिका कारण ठुलो नोक्सानी व्यहोर्दै आएका छौँ । अब यस रोगले केरा किसान विस्थापित हुने अवस्था छ”, उनी भन्छन्, “केरा नष्ट गर्न तयार छौँ । हामी केरा व्यवसाय छाडेर अर्को गर्न तयार छौँ, राज्यले विकल्प खोजिदिनुपर्‍यो ।” पानामा रोगको सङ्क्रमण देखिएपछि टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परीक्षणका लागि नमुना पठाउन कार्यदलले किसानलाई सुझाव दिएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ १३ बुधवार ०७:१६ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...