झापा । सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले झापा-२ मा भइरहेका अधिकांश विकास निर्माणका कार्यको मंगलबार अनुगमन गरेका छन् । उनले शनिश्चरे-जयपुर सडक, शनिश्चरे-खुदनाबारी जोड्ने विरिङ नदीको भत्किएको पुल, विर्तामोड-शनिश्चरे सडकलगायत दर्जनौँ योजनाको स्थलगत अनुगमन गरेका हुन् ।
सभामुख घिमिरेसँग अर्जुनधारा नगरपालिकाको समग्र विकास निर्माणका बारेमा आजै छलफल भएको छ । उनले सरकार दिगो ढङ्गले चल्न नसकिरहेको अवस्थामा बजेट अभावले विकास निर्माणका काम तीव्र रुपमा हुन नसकेको बताए । उनले भने, “जति पनि ठेक्का सम्झौता भइसकेका सडक, पुल छन् । ती निर्माणका लागि सरकार लागि परेको छ ।”
सङ्घीय सरकार र प्रदेश सरकारबाट योजनामा परेका बजेटलाई कार्यान्वयनमा लैजान आग्रह गर्दै उनले सहज रुपमा काम गर्ने वातावरण बनाउन स्थानीयलाई आग्रह गरे । उनकै पलमा चालु आव २०८०/८१ मा करिब रु ३५ करोड बढीका ५६ वटा योजना अर्जुनधारा क्षेत्रमा परेका छन् ।
सभामुख घिमिरेले विर्तामोड-शनिश्चरे-खुदुनाबारी सडकखण्डमा पर्ने बिरिङ नदीको बाढीले भत्किएको पुलको पनि स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा उहाँले सो स्थानमा नयाँ पुलका निर्माणका लागि पहल सुरु भइसकेको बताए । साउन महिनामा आएको बाढीले विरिङ खोलाको पुल भाँचिएको थियो । उक्त पुल भारतीय राजदूतावासको सहयोगमा विसं २०६४ मा निर्माण भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए ।
रासस
वि.सं.२०८० असोज ९ मंगलवार २३:२३ मा प्रकाशित






























