काठमाडौं । लुम्बिनीका अधिकांश वैदेशिक रोजगारीमा गएकाहरुले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने गरेको प्रतिवेदन सार्बजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको “लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव” अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।
प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये ९७.६५ प्रतिशत श्रमिकहरुले बैकिङ माध्यमबाट रेमिट्यान्स पठाउने गरेका छन् भने २.३५ प्रतिशत श्रमिकहरुले गैर बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउने गरेका देखिएको छ ।
बैकिङ च्यानलमार्फत भन्दा हुण्डिमार्फत रेमिट्यान्स भित्रिने गरेको समाचार सार्बजनिक भैरहँदा राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार रोजगारीका लागि विदेशिएका परिवारका सदस्यहरु मध्ये ८६ प्रतिशतले आर्थिक कारोबार गर्न विद्युतीय माध्यम तथा चेकको प्रयोग गर्ने गरेका छन् । त्यस्तै १४ प्रतिशतले परम्परागत रुपमा नगदकै प्रयोग गर्ने गरेका छन् ।
प्रतिवेदन अनुसार रोजगारीका लागि विदेशिएका कामदारका परिवारहरुले बैंकहरुमा खाता खोल्ने दर पनि बढेको छ । उनीहरुको बचत खाता खोल्ने दर ३९.५८ प्रतिशतले बढेको छ भने कर्जा खाता खोल्ने दरमा १३०.६५ प्रतिशतले बृद्धि भएको छ ।
आधुनिक संचार सुविधामा पहुँच झण्डै शत प्रतिशत
राट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा गए पश्चात श्रमिकका परिवारहरुको आधुनिक संचारमा पहुँचको अवस्था झण्डै शत प्रतिशत पुगेको छ । आधुनिक संचारमाध्यममा पहुँच पुग्ने परिवारको संख्या ९८.९६ प्रतिशत पुगेको छ । त्यस्तै १.०४ प्रतिशत परिवारले सामान्य संचार माध्यमको प्रयोग गर्ने गरेको देखिएको छ ।
यस्तो छ राष्ट्र बैंकको निष्कर्ष र सुझाब
निष्कर्ष
वैदेशिक रोजगारीका कारण औषत वार्षिक करिब चार लाख २० हजार बचत गर्न सफल भएको, वैदेशिक रोजगारीमा संलग्न परिवारहरुले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरुको गुणस्तरमा वृद्धि हुनुका साथै ६८.४१ प्रतिशतले आफ्नो तथा परिवारका नाममा घर/जग्गा खरिद एवम् निर्माण गरेको देखिन्छ ।
वैदेशिक रोजगारीमा संलग्न व्यक्ति/परिवारले खर्च तथा बचत लगानीको निर्णय गर्दा ८०.६८ प्रतिशतले पारिवारका सदस्यहरुबीच आपसी सरसल्लाह गरेर मात्र गर्ने गरेकोले पारिवारिक मेलमिलाप सुदृढ भएको देखिन्छ । कतिपय सञ्चरमाध्यमहरुमा वैदेशिक रोजगारीका कारण परिवार भाँडएिको प्रचार भैरहेको अवस्थामा यो प्रतिवेदनले त्यस्ता सामचारहरुको खण्डन गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि ६३.० प्रतिशतको मात्र बैंक खाता रहेकोमा विप्रेषण रकम प्राप्त गर्न थाले पश्चात् बैंकिङ्ग कारोवार तथा डिजिटल भुक्तानी प्रणालीमा समेत अधिकांश परिवारहरुको पहुँच पुगेको देखिएको छ ।
वैदेशिक रोजगारीमा गए पश्चात अध्ययनमा समेटिएका ९८.९६ प्रतिशत परिवारले आधुनिक सञ्चार माध्यमको प्रयोग गरेको देखिँदा सञ्चारको पहुँच सकारात्मक भएको देखिन्छ ।
वैदेशिक रोजगारीमा संलग्न परिवारका अधिकांश बालबच्चाहरुको हेरविचार परिवारका सदस्यहरुबाटै हुने गरेको देखिन्छ । त्यस्तै परिवारका महिला सदस्यहरु विभिन्न संघ–संस्थामा आबद्ध हुने गरेका छन् जसले महिलाहरुको स्व–निर्णय क्षमता वृद्धि गर्नुका साथै महिला सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउन अभिप्रेरित गरेको देखिन्छ ।
आर्थिक अभावमा जीवनयापन गरेको परिवारका सदस्य वैदेशिक रोजगारीमा गए पश्चात् अधिकांश परिवारको सम्बन्ध राम्रो रहेको अध्ययनले देखाएको छ भने करिव ६.० प्रतिशत परिवारको सम्बन्ध कमजोर भएको पाईएको छ ।
वैदेशिक रोजगारी पश्चात् अधिकांश परिवारले शुद्ध खानेपानीको प्रयोग, गुणस्तरीय निजी तथा सार्वजनिक सवारी साधनहरुको प्रयोग गर्ने गरेको देखिन्छ ।
वैदेशिक रोजगारी पश्चात् पारिवारिक सदस्यहरुको खानपान, लत्ताकपडा, बसाईको गुणस्तर वृद्दि हुनुका साथै सामाजिक सम्बन्ध समेत राम्रो भएको अध्ययनले देखाउँछ ।
सुझाव
वैदेशिक रोजगारीमा जाने निम्न वर्गीय परिवारहरुलाई मध्यनजर गर्दै रोजगारीमा जाँदा लाग्ने लागत न्यूनीकरण गर्ने तथा आवश्यक तालिम र प्रशिक्षणद्धारा सीप विकास गरेर गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गरी श्रमिकहरुलाई वैदेशिक रोजगारमा पठाउने व्यवस्था गरेमा विप्रेषण आम्दानीमा वृद्धि हुने देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने सङ्ख्याको वृद्धिसंगै अध्ययनमा समेटिएका परिवारहरुमध्ये ३५.५१ प्रतिशतको खेतीयोग्य जमिन बाँझो भई घटेको देखिएकाले वैदेशिक रोजगारीबाट प्राप्त हुने रकमलाई पूर्ण सदुपयोग गर्दै कृषि उत्पादन बढाउन विशेष नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरुको ज्ञान, सीप तथा अनुभवलाई केन्द्रमा राखेर तीनै तहका सरकारले ल्याएका विशेष कृषि, पशुपालन, लघुउद्यम कार्यक्रमहरुमा विशेष आकर्षण नदेखिएकाले सरकारका उक्त नीतिहरुलाई थप परिमार्जन गरी लगानी प्रोत्साहन गर्न उचित कदम चाल्नुपर्ने देखिन्छ ।
यस अध्ययनमा वैदेशिक रोजगारीबाट आप्रवाह हुने विपे्रषण रकम ९७.६५ प्रतिशतले बंैकिङ्ग माध्यमको प्रयोग गरी पठाउने गरेको देखिएता पनि उक्त रकम अनौपचारिक माध्यमबाट नेपाल भित्रिने र स्वदेशमा सम्बन्धित परिवारको बैंक खातामा जम्मा हुने जानकारी पाईएकोले यसलाई पूर्णरुपमा बैंकिङ्ग माध्यममा ल्याउन सम्बन्धित निकायहरुले नीति नियमहरु परिमार्जन गर्नुपर्ने देखिन्छ ।
आधारभूत तहको पाठ्यक्रममा वैदेशिक रोजगारी तथा आय आर्जन र समस्या÷चुनौतीहरु समावेश गरी पठनपाठन गराउने र वैदेशिक रोजगारीमा जाने कामदार एवम् उनीहरुको परिवारलाई प्राप्त हुने आयको उचित उपयोगका लागि वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्न सकेमा वैदेशिक रोजगारी थप प्रभावकारी हुने देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका पारिवारिक सदस्यलाई जानुपूर्व अनिवार्य बैंक खाता खोल्न लगाई विप्रेषण रकमलाई बैंक खातामार्फत् नै पठाउने व्यवस्था मिलाउने र पुनः श्रम स्वीकृति लिँदा बैंक खातामार्फत् विप्रेषण रकम आए—नआएको एकिन गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेमा सम्पूर्ण विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट आउने देखिन्छ ।
वि.सं.२०८० असोज २२ सोमवार १७:११ मा प्रकाशित






























