काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन् ।
पार्टीको ललितपुर जिल्ला कमिटीले आज आयोजना गरेको भेलामा उनले नेपाली समाजलाई विभाजित गरेर देशलाई कमजोर पार्ने प्रयास गरिएको बताउँदै त्यसविरुद्ध हरेक चेतनशील नेपाली लाग्नुपर्ने बताए ।
समाजलाई जात-जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुन सक्दैन भन्दै महासचिव पोखरेलले भने, “सिङ्गो तराईलाई एउटा प्रदेशमा विभक्त गर्ने कुरा नेपाल राष्ट्रलाई कमजोर बनाउने कुरा हो । त्यो स्वीकार्य हुँदैन ।”
उनले हिमाल, तराई, पहाड कोही छैन पराई भन्ने मान्यतालाई नेपाली राजनीतिमा स्थापित गरिएको बताए । उनले नेपालको राष्ट्रिय हित रक्षा गर्न नेपाली नचुक्ने प्रतिबद्धता व्यक्त गरे ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार २१:४२ मा प्रकाशित






























