काठमाडौँ । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा मंगलबार तीन जना पक्राउ परेका छन् ।
केरुङबाट ल्याइएको १२ तोला सुनका औँठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा-५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा-५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा-३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले बताए ।
यसअघि गत आइतबार रु १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठीसहित तीन जनालाई पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले जनाएको छ ।
अवैधरूपको सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
रासस/फाइल फाेटाे
वि.सं.२०८० मंसिर ६ बुधवार ०७:३६ मा प्रकाशित






























