काठमाडौँ । नेपाली युवा रुसी सेनामा भर्ती भई समस्यामा परेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू त्यसबारेमा गम्भीर र संवेदनशील रहेको बताए । “रुस वा युक्रेनको लडाइँमा नेपाली युवा रुसी वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन”, उनले भने ।
विगतमा सम्झौता भएका भारत र इङ्ग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति नभएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री दाहालले त्यसबारेमा रुसलाई नोट पठाइएको, परराष्ट्रमन्त्रीले पटक–पटक यस विषयमा कुरा गरेका जानकारी दिए ।
नाम सम्मेलनका क्रममा गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा रुसका उपविदेशमन्त्रीसँग पनि भेटेर परराष्ट्रमन्त्रीले कुरा गरेको स्पष्ट पार्दै नेपाली युवालाई फिर्ता पठाइदिन आग्रह गरिएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । युद्धमा परेर मारिएका युवाका बारेमा पनि कुरा भएको बताउँदै क्षतिपूर्तिलगायत विषयमा सरकारले गम्भीर रूपमा लिएको उनको भनाइ थियो ।
“सबैले जनतामा चेतना फैलाउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीत विपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ । सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ”, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री दाहालले ताइवानलाई नेपालले सुरुदेखि नै चीनको अङ्गका रूपमा हेर्दै आएको स्पष्ट पारे । “एक चीन नीति स्वीकारीसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ”, उनले भने । ताइवान चीनकै अङ्ग हो भन्ने नीति नेपालको सुरुदेखि नै रहिआएको र त्यो भन्दा बाहिर नभएको उनले बताए । ।
वि.सं.२०८० माघ ७ आइतवार १२:१२ मा प्रकाशित






























