ओम प्रसाद थापा काउचा, बेलायत । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल‘इन्टरनेशनल मेयर अर्वाड’ ग्रहण गर्न बेलायत आउँदैछन् ।
बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स्’ मा आयोजना हुने ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड’ समारोहमा ‘इन्टरनेसनल मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल मार्चको पहिलो साता बेलायत आउन लागेकी हुन् ।
राजनीतिक तथा सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान गर्नेहरुलाई प्रदान गरिने उक्त अर्वाड भरतपुरको मेयर भएपछि दाहालले भरतपुरको विकास र समृद्दिका लागि गरेको कामको सम्मान तथा कदरस्वरुप अर्वाड दिइन लागेको बताइएको छ ।
मेयर दाहालको सचिवालयका अनुसार मार्च ४ तारिखमाा बेलायतको लन्डन आइपुग्ने दाहाल १२ मार्चमा नेपाल फर्कनेछन् । त्यबीचमा उनले सम्मान ग्रहण गर्नेमात्र नभएर बेलायतमा रहेका नेपाली समुदायहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने र केही स्थानिय निकायको अवलोकन गर्नुका साथै त्यहाँका राजनीतिक नेतृत्वहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
बेलायतमा रहँदा मेयर दाहालले लन्डन दूतावासमा ‘भिजिट भरतपपुर २०२४’ अभियानमा सहभागी हुनेछन् । साथै मार्च ८ मा बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्था, समुदाय तथा त्यहाँ रहेका पार्टीका कार्यकर्तासँग अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी मार्च ९ र १० मा त्यहाँको लेष्टर सिटी अवलोकन, लन्डनको ग्रीनवीच बरोको अवलोकनका साथै ११ तारिखमा नेपाली तथा बेलायती व्यवसायी र लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।
यद्यपी मेयर दाहालको सचिवालयले मेयर दाहाल भ्रमणमा जाने पक्का भएपनि कार्यक्रमको तालिका भने निश्चित भइनसकेको जानकारी दिएको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १६:०३ मा प्रकाशित





























