back
CTIZAN AD

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

वि.सं.२०८० फागुन ६ आइतवार

7.8K 

shares

प्रकाश ढकाल, डेनमार्क । पछिल्लो तथ्यांक अनुसार नेपालका बैंकहरुमा ५८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप जम्मा छ भने बैंकहरुले ४९ खर्ब ३८ करोड रुपैयाँ विविध शीर्षकमा कर्जा लगानी गरेका छन् । त्यो निक्षेप १ करोड ८३ लाख जना नेपालीले जम्मा गरेको पैसा हो भने बैङ्कसँग ऋण लैजाने १८ लाख ४८ हजार नेपालीहरू छन् । तथ्यांकलाई केलाउने हो भने बैङ्क हरूसंग करिब नौ खर्ब रुपैयाँ लगानी योग्य पैसा छ । त्यो पैसा बैङ्क मै थुप्रिएको छ । त्यो पैसा बजारमा आउन सकिरहेको छैन । यस्तै अवस्था रह्यो भने बैङ्कहरुले बचतमा दिने ब्याजदर भविष्यमा घट्ने निश्चित छ ।

नेपालका बैंकहरु चलेको भनेको नै विदेशिएका नेपालीहरुले पठाएको रेमिट्यान्स नै मुख्य स्रोत हो । विदेश बस्ने नेपालीले काम मेहनत गरी पैसा पठाउँछ अनि घर परिवारको खातामा या आफनै खातामा रकम जम्मा गरिरहन्छ तर उ व्यक्तिगत रूपमा नेपालमा हुने व्यापार व्यवसाय या यस्तै अन्य आर्थिक क्रियाकलापमा सामेल हुनै सक्दैन । यो पनि एक कारण हो बैंकमा थुप्रिएको पैसा बजारमा आउन नसक्नु मध्यको एक कारण ।

कूनै एक व्यक्तिले सरकारले सम्पूर्ण गरिदियोस्, सम्पूर्ण समस्या समाधान सरकारले गरिदियोस् भन्ने चाहँदैन । मात्र सरल नीति सरकारले बनाइयोस् भन्ने चाहन्छ । आज देशमा एक से एक होनाहार युवाहरु छन् तिनलाई राज्यले या राज्य सम्बद्ध निकायले ती युवाहरुको विशिष्ट क्षमतालाई बेलैमा चिन्न नसक्ने हो भने देश रित्तिँदै छ । नेपालका युवाहरुमा शिप र ज्ञान नभएको होइन मात्र ती युवाहरुमा जुन किसिमको ज्ञान र सीप छ त्यसलाई राज्यले उपयोग गर्न नसकेको मात्र हो ।

देशको विकासमा बैंकहरुको ठुलो भूमिका हुन्छ । बैंकले गर्ने लगानी चाहे त्यो प्रविधिमा होस, चाहें हाइड्रोपावरमा होस्, स्वास्थ्य र शिक्षामै किन नहोस्, कृषि, पर्यटन लगायत अन्य पूर्वाधार विकासमा बैङ्कको लगानी विना संभव पनि छैन ।
अर्को कुरा सरकार तथा बैङ्कको नीति । नेपालका बैंककको नीति हेर्ने हो भने उसले एक व्यक्तिको क्षमतालाई बिश्वास नै गर्दैन । मानौँ कुनै एक व्यक्तिले कुखरा, बाख्रा पालन गर्छु भनि राम्रो व्यापारीक योजना बनाई बैंकसँग ऋण माग्न गयो भने बैंककले पहिला ऋणको सुरक्षण या धितो ग्यारेन्टी खोज्छ । यदि व्यक्तिले जग्गा धितो राख्न चाहन्छ भने त्यो जग्गा नगरपालिका भित्रको हुनुपर्छ । अझै नगरपालिकाभित्र पनि मोटर जाने पिच रोडसँग जग्गा जोडिएको हुनुपर्छ अनि बल्ल बल्ल बैंकले ऋण पत्याउँछ । यो एक उदाहरण हो ।

अर्को उदाहरण हेरौं । यदि कुनै एक व्यक्तिसंग कृषि सम्बन्धी ज्ञान छ अनी बजार आँफै खोज्ने क्षमता पनि छ, उ सँग राम्रो व्यापारको आइडिया पनि छ तर उ संग जग्गा छैन । तर पनि उसले जग्गा भाडामा लिई कृषि उत्पादन गर्छु भनी राम्रो योजना बनाई बैंकमा ऋण माग्न गयो भने बैंककले पहिला कृषि उद्योग दर्ता गरी कृषि कार्य शुरू गरेको छ कि छैन भनी हेर्छ । अनि त्यो व्यक्ति उद्योग दर्ता गर्न जान्छ तर उसलाई उद्योग दर्ता गर्न वडा कार्यालयदेखि नगरपालिका या गाउँपालिकामा यति दुःख दिइन्छ नि । यसको कुरा गरी साध्य छैन । कृषि कार्यालय जाउ, घरेलु उद्योग कार्यालय जाउ दर्ता गर, जग्गा भाडामा लिएको भए वकील सहित लालपूर्जा ल्याउ, भाडामा जग्गा लिएको हो भने जग्गा भाडामा दिने र लिनेका दुवै वकील सहित उपस्थिति भै करार सम्झौता देखाउ, कम्पनी रजिष्टारको कार्यालयमा जाउ, कर कार्यालय गई पान नम्बर लिउ, आन्तरिक राजस्व कार्यालयमा गै फर्म दर्ता गर । एक व्यक्ति नेपाली नागरिक हो अनि नेपाली नागरिकता पेश गरी नेपालमै केही गर्न चाहन्छ भने यतिविधि बाधा र पर्खाल किन ? नेपाली नागरिकका लागि होइन भने कसका लागि हो देश ? देशको नागरीक हुँदा पनि केही गर्छु भन्नेका लागि यति विधि नियम कानुनहरु बाधा बन्नु हुँदैन तर भइरहेको छ । कुनै एक व्यक्तिले देशमा आर्थिक क्रियाकलाप हुने कर्म गर्न चाहन्छ भने उसलाई विश्वास गर्न नसक्नु भनेको बैंकमा थुप्रिएको पूँजी चलायमान बनाउन नसक्नु हो । अनि बजारमा पैसा कसरी आओस् ?

व्यक्तिसंग असीमित क्षमता हुन्छ । गर्ने व्यक्तिले नै हो मात्र उसले सरकारसंग या सरकारसंग सम्बद्ध निकायसँग केही नीतिगत सहुलियत मागेको हुन्छ ताकी उक्त व्यक्तिले आफ्नो क्षमता अनुसारको कर्म गर्न सकोस् । कूनै एक व्यक्तिले सरकारले सम्पूर्ण गरिदियोस्, सम्पूर्ण समस्या समाधान सरकारले गरिदियोस् भन्ने चाहँदैन । मात्र सरल नीति सरकारले बनाइयोस् भन्ने चाहन्छ । आज देशमा एक से एक होनाहार युवाहरु छन् तिनलाई राज्यले या राज्य सम्बद्ध निकायले ती युवाहरुको विशिष्ट क्षमतालाई बेलैमा चिन्न नसक्ने हो भने देश रित्तिँदै छ । नेपालका युवाहरुमा शिप र ज्ञान नभएको होइन मात्र ती युवाहरुमा जुन किसिमको ज्ञान र सीप छ त्यसलाई राज्यले उपयोग गर्न नसकेको मात्र हो ।

नेपालका बैंकहरुको जनताप्रति कुनै दायित्व नै नभए जस्तो यो व्यवहार पनि हाल् बैंकको पैसा बजारमा आउन नसक्नु एक कारण हो । तीनै जनताको पैसाबाट चलेका बैंकहरुको जनताप्रति दायित्व हुनुपर्छ । जनतालाई विश्वास गर्नुपर्छ । सानो व्यापार व्यवसाय गर्छु भन्दै ऋण माग्न जाने कुनै व्यक्तिको क्षमतालाई बैंकहरुले बिश्वास गर्नुपर्छ ।

अस्ति भर्खरै बर्दियाको कर्ण बहादुर क्षत्री जो आईटीमा पोख्त थिए उनले बनाएको ’पिक अप लाईन्स’ नामक एक एपले इन्टरनेटको सञ्जालमा धेरै ख्याती कमायो । त्यो एपमार्फत् उनले अन्तर्राष्ट्रिय क्षत्रबाट पैसा पनि कमाइरहेका थिए । उनको क्षमता भएर पनि उनले त्यसलाई अझै बिस्तार गरी व्यवसायको रुपमा लैजाने अवस्था हुँदा हुँदै पनि उनले त्यो एपको सम्पूर्ण प्रतिलिपि अधिकार सहित इजरायलको एक कम्पनीलाई सत्तरी लाख रुपैयाँमा बेचेको खबर आयो । सुन्नमा आएको खबर अनुसार उनीसंग पुँजी नभएको कारण त्यसलाई व्यवसायको रुपमा अगाडी बढाउन सकेनन्। यसको जिम्मेवार को ? त्यस्ता व्यक्तिलाई राज्यले चिन्न नसक्नु दुर्भाग्य हो । त्यस्ता व्यक्तिलाई राज्यले चिनेर थोरै मात्र नीतिगत परिवर्तन गर्ने हो भने उनले आफ्नै आई टी कम्पनी खडा गरी त्यो एपको केही फिचरहरुलाई प्रोग्रामिङ गरी संसारभर बेच्न सक्थे । तर त्यो अवस्था अब रहेन किनकी ईजरायलको एक कम्पनीले सम्पूर्ण प्रतिलिपि अधिकारसहित आफ्नो स्वामित्व बनाइसक्यो ।

नेपालका बैङ्कहरूले कतिसम्म गर्छन् भने मेरो आफ्नै छिमेकी भाइले नेपालमै केही गर्छु भन्दै कस्मेटिक पसल खोल्न बैंककसँग दश लाख ऋण माग्दा बैंकले ऋण दिएन तर त्यही भाई अब क्यानडा जान्छु भनी ऋण माग्न जाँदा बैंकले बीस लाख रूपैयाँ ऋण तुरून्तै स्वीकृत गर्यो र उ अहिले क्यानडा गइसक्यो । एक देशमा बैंकहरुको यस्तो अनुदार नीति हुनुहुदैन । साना व्यापार व्यवसाय गर्नेहरूलाई बैंकले निकै सीमित ऋण पत्याउँछ त्यो पनि चर्को ब्याजदरमा । अनि ऋण दिने बेलामा एक ब्याजदरमा दिएको हुन्छ तर केही समयपछि ऋणको ब्याजदर बढेको भनेर मोबाइलमा संदेश आउँछ । यहाँ नीतिगत स्पष्टता हुनुपर्छ ।

बैङ्कले कर्जा लगानी/ऋण दिँदा सम्झौता पत्रमा कर्जाको ब्याजदरको एउटा ’भेरियवल दर’ प्रतिशतमा राखेको हुन्छ । यो अति महत्वपूर्ण बुँदा हो तर बैंकहरुले ऋणीलाई यसको अर्थ बुझाउनै चाहँदैनन् । ऋणी पनि ऋण छिटो पाउने आशमा केहि बुझ्नै नखोजी हस्ताक्षर गरिहाल्ने प्रवृत्तीले पनि बैंकहरु ब्याजदरमा हावी भएको देखिन्छ । त्यो कर्जाको भेरीयवल दर निश्चित समयसम्म (शर्त अनुसार छ महिना या एक वर्ष) बढाउन पाइँदैन तर अधिकांश बैंकले भित्र भित्रै निकै छिटो दुई महिनामै त्यो दर परिवर्तन गरी कर्जाको ब्याजदर बढाइदिन्छन् । यो सरकारले या नेपाल राष्ट्र बैंकले नीतिमा कडाइ नगरेको कारण बैंकहरुले आँफुखुशी गरिरहेको देखिन्छ ।

स्वाभाविक हो, बैंकहरु नाफा कमाउन नै स्थापित भएका हुन् तर नाफा पनि कतिसम्म कमाउने भन्ने कुनै नीति या नियम नभएको हुँदा धेरै साना व्यापार व्यवसाय गर्नेहरुले चर्को ब्याजदरको मार खेप्नपरेको छ । कुनै एक देशको अर्थतन्त्र या बजारमा जनताले खर्च गर्ने क्षमताको आधारमा बैंकहरुको ब्याजदर निर्धारण हुनुपर्नेमा त्यसो भइरहेको छैन । नाफा कमाउने भन्ने तर कतिसम्म कमाउने ? भन्ने दायरा नभएको हुँदा कर्जा लिने मध्यम वर्गीय परिवार सधैं मारमा परिरहेको हुन्छ ।

ठुला व्यापारी तथा लगानीकर्ताले बैङ्कबाट लिने कर्जा पनि ठूलै हुन्छ अनि त्यसको ब्याजदर चाहिँ थोरै हुन्छ । यो स्वाभाविक हो तर ठुला व्यापारी भए भन्दैमा पहुँचको आधारमा कर्जा लगानी गर्ने तर लिनुपर्ने ब्याजदर चाहिँ बैंकले नलिने जुन् निित छ त्यो नै खराब छ । बैंकले ठुला व्यापारीले लिएको कर्जाको ब्याजदर बढी लिन सक्ने अवस्था हुँदाहुँदै नलिने खाली थोरै ब्याज लिने तर साना उद्योग तथा व्यापार व्यवसाय गर्नेहरूलाई चाहिँ चाहिने भन्दा बढी ब्याजदर असुल्ने । यो जुन असमान नीति छ त्यसमा तत्काल सुधार नगरे बैंकमा पैसा थुप्रीरहन्छ । यो नीतिले बैंकहरु धनी बनिरहने अनि ठुला व्यापारी पनि अझैं धनी बनिरहने तर साना उद्योग, तथा व्यापार व्यवसाय गर्ने वर्गीय परिवार चाहिँ उठ्न नसक्ने मात्र भइरहन्छ । यस्लाई प्राक्टिकलको रूपमा हेर्ने हो भने नेपालमा अहिले ठ्याक्कै यही भैरहेको छ। कोरोना कालको एउटा उदाहरण – संसारका कुनै पनि बैंकले नाफा कमाएनन् किनकी संसार भरका धेरै देशका बैंकहरुले कोरोना कालमा ब्याजदर कम् गरे, तिर्नुपर्ने किस्ता छ महीना पछाडी सारिदिए तर नेपालमा ठीक उल्टो भयो । कोरोना कालको चार महिनामा मात्रै नेपालका बैंकहरुले २८ अर्ब रुपैयाँ कमाएका थिए । यो तथ्यांक सुन्दै अचम्म लाग्छ तर यो यथार्त हो, तथ्यांकले त्यही भन्छ । संसारभरका बैंकहरुले जनतालाइ छुट अनि राहत दिए तर नेपालका बैंकहरुले ऋणीसँग एक रूपैयाँ पनि छोडेनन् । नेपालका बैंकहरुको जनताप्रति कुनै दायित्व नै नभए जस्तो यो व्यवहार पनि हाल् बैंकको पैसा बजारमा आउन नसक्नु एक कारण हो । तीनै जनताको पैसाबाट चलेका बैंकहरुको जनताप्रति दायित्व हुनुपर्छ । जनतालाई विश्वास गर्नुपर्छ । सानो व्यापार व्यवसाय गर्छु भन्दै ऋण माग्न जाने कुनै व्यक्तिको क्षमतालाई बैंकहरुले बिश्वास गर्नुपर्छ ।

संसारका धनी व्यक्ति मध्य एक विल गेट्ससँग असीमित क्षमता थियो । उनले कम्पनी खडा गरे तर उनीसंग एकदम कम् पुँजी थियो । उनको कम्पनी कार्यालय सानो ग्यारेज जस्तो कोठामा थियो । उनीसंग पुँजी थिएन तर उनी बैङ्क गए, उनलाई बैंकले शुरुमा विश्वास गरेन तर उनले बनाएको माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टमको बारेमा बैंकलाई सम्पूर्ण कुरा बुझाए पछि, अमेरिकी सरकारले पनि विश्वास गरी नीतिमा परिवर्तन गरेपछि जब १९८६ मार्च १३ गतेका दिन उनको कम्पनी बैंकहरुको सहयोगमा न्युयोर्क स्टक एक्सचेन्जकोे सूचीकृत भै पब्लिक कम्पनीमा गयो त्यहाँपछि उनी कहिल्यै पछाडि फर्कन परेन । आज संसारभरका ७० प्रतिशत भन्दा बढी कम्प्युटरहरु विल गेट्सले बनाएको अपरेटिङ सिस्टमले चल्छन् । व्यक्तिसंग असीमित क्षमता हुन्छ, गर्ने व्यक्तिले नै हो तर बैङ्क तथा राज्यले बनाउने नीतिले ठूलो भूमिका खेल्छ ।
अहिलेका संसारका धनी इलन मस्कले ’पे पल’ नामको कम्पनी सन् १९९८ मा खडा गरे। त्यो कम्पनीको काम अनलाइनमार्फत् सेवा प्रदान गर्नु थियो । उनले बनाएको त्यो सफ्टवेयरको माध्यमले संसारभरबाट समान किन्न पाइने अनि पैसा चाहिँ अनलाइनमार्फत् तिर्नुपर्ने । यो कार्यमा बैंकहरुको सहयोग विना संभव थिएन किनकी कारोबार त बैङ्कको कार्ड मार्फत् हुन्थ्यो । यस्तो अवस्थामा बैंकहरूले एलन मस्कलाई विश्वास गरे अनि अमेरिकी सरकारले नीति नियम सजिलो बनाइदियो आज तीनै व्यक्ति एलन मस्क टेसला कम्पनी लगायत बिसौँ बहुराष्ट्रिय कम्पनीका मालिक छन् ।

माथिको उदाहरण मात्र सरकारको नीति र बैंकहरुले व्यक्तिलाई या जनतालाइ गर्ने विश्वासले कति फरक पार्छ भन्ने हो । आजकल बैंकमा पैसा जम्मा गरी ब्याज मात्र खान मन पराउने प्रवृति पनि हानिकारक छ। आज नेपालका बैंकहरुले बचत योजनामा दिने ब्याजदर १० प्रतिशत भन्दा बढी छ । यति धेरै ब्याज दिनु पनि पैसा थुप्रिनुको एक कारण हो । ब्याज बढी पाउने भएपछि मान्छेमा जाँगर चल्दैन मान्छेलाई अल्छी बनाउँछ । मान्छेले त पैसा लगानी गरी साना उद्योग, कृषिकर्म, पर्यटनमा लगानी तथा व्यापार व्यवसाय गर्ने हो तर ब्याज बढी पाउने भएपछि व्यक्तिले व्यवसाय गर्न जाँगर चलाउँदैनन् अनि बैंकमा पैसा थुप्रिइरहन्छ । तर, जसले जाँगर चलाउन खोज्छ, केहि गर्न खोज्छ उसले सरकारको नीतिका कारण झन्झट व्यहोर्ने मात्र होइन बैङ्कले ऋण पनि पत्याईदिँदैनन् । अनि पूँजी चलायमान हुन पाउँदैन । यसमा सुधार नगरे अब केही बर्षमा बैंकले लगानी गर्ने ठाउँ पनि रहँदैन अनि बैंकले ठुला ऋणीहरूसँग ऋण असुली गर्ने अवस्था पनि रहँदैन किनभन्दा साना उद्योग तथा व्यापार व्यवसाय फस्टाए भने ठूला व्यवसाय पनि चल्ने हुन् ।

वि.सं.२०८० फागुन ६ आइतवार १६:४० मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...