कलानिधि दाहाल, काठमाडौं
धप्प धप्प बलेको छ कतै
धप्धपाएर अखण्ड दीप
परिवेश स्तब्ध
बेखुसीले नभई खुसी खुसीले
विल्कुल छाएको छ सन्नाटा
न आहट
न घबराहट
न आवाज
न चिच्याहट
चारैतिर अग्ला बटवृक्ष
पिङ् खेलिरहेका लहरा
चिर्बिर्चिबिर चरीगुञ्जन
मन्दपवनको सङ्गीत सुमधुर
हल्केको हरियो दुबो लहलह
शीतका थोपाको चुम्बन
तृष्णारहित लम्पसार चहुरहरू
वरिपरि अलिकति माथि उठेको
मान्छेको शरीरजस्तै बाहिरी
स्निग्ध सफा
गहिरो भित्र कता कता केही
मान्छेको अविदित अन्तर गर्भफाँट
वर्तन कुनै पनि चिजको हुन सक्छ
लपेटिएको तेल
मानौँ नसानसा रक्तप्रवाहित छ
अविदित अस्पष्ट अन्तर गर्भ
एक झिल्को आगो एकपटक
पटक जुनसुकै बेला हुन सक्छ
हिजोअस्ति आजभोलि
अलिकति स्पर्श
लपेटिएको तैल
सलेदो हुन सक्छ अग्निस्पर्श
धप्प धप्प ज्वाला
न कसैप्रति लक्षित छ
न कोहीसँग
चेतनदीप मानव दिलबाट
मस्तिष्क शिर बनाएर
सञ्चरित नसानादसम्म
अवतरित अन्तरिक्ष यात्रुझैँ
आरोहित धवल हिमशिखरबाट
क्षितिज अन्तरिक्षसम्म
आक्रोश अहङ्कार शून्य
प्राप्ति प्रलोभन शून्य
प्रशँसा निन्दा शून्य
अपार यात्रा
अनन्त हेराइ
असङ्ख्य दृष्टि
मात्र एक दृश्य
अनुपम उल्लास
कलाकुञ्ज
दिव्य अन्तरालोक
शून्य तिक्तता
को हुन्न कलरव सुन्ने चरीको
को हुन्न आवाज सुन्ने मन्द पवनको
को हुन्न उपल्लो प्रेमगीत भर्ने
अन्तर चेतना बुद्धको
अपार आस्था
असङ्ख्य अनुभूति
सौन्दर्यशील सौगात
समग्र विश्वबोध
यात्रीहरू बिस्तारै
तर तँ छाड
म छाड
उछिनौँ छैन गति मात्र
आएका छन् आउनेहरू
गएका छन् जानेहरू
अखण्डदीप तेलसलेदोझैँ
धप्प बलेर
परिवेश शान्त भएझैँ
चेतनदीप मन मस्तिष्कबाट
धप्प बलेर
म शान्त हुनुको परिभाषा
के समग्र विश्व शान्त
असम्भव हुन सक्छ र!!
वि.सं.२०८० चैत २४ शनिवार ०७:५५ मा प्रकाशित