रुद्र अधिकारी, विशालनगर, काठमाडौँ
१.
गन्तव्य उही भए पनि बाटो फेरिन्छन् ।
सबै चित्र पूर्ण हुँदैनन् जति केरिन्छन् ।
ज्युने नाममा हुने सम्झौताको बलिमा,
मनका हजारौँ रहरहरू सेरिन्छन् ।
२.
आस जाग्नु स्वाभाविक नै हो कुरै भएपछि ।
मन हो दुख्छ नै सपना अधुरै भएपछि ।
आधा तिरस्कृत हुनु स्वाभाविक नै हो नि,
अरू नै ठाउँबाट पाइने पूरै भएपछि ।
३.
धोका खाएपछि फेरि भर पर्न सकिँदैन ।
अविश्वासको खाल्टो केहीले भर्न सकिँदैन ।
एकपटक माफ गर्न सकिन्छ कसैलाई ,
तर पहिले जस्तै विश्वास गर्न सकिँदैन ।
४.
छन् सबै क्षणिक स्वार्थमा बिक्नेहरू ।
छैनन् सहृदयताले परेली भिज्नेहरू ।
जता गयो त्यतै ठोकिन्छन् मान्छेहरू त,
तर भेटिँदैनन् कोही मन मिल्नेहरू ।
५.
चाहना कहिले पूरा गर्ने उमेर त ढल्कियो ।
मनका भावनाहरू आँसु बनी छल्कियो ।
व्यथाहरू मनमै राख्ने कोशिस गर्दा पनि,
हृदयका चोटहरू अनुहारमा आई झल्कियो ।
वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०५ मा प्रकाशित
























