रामशरण न्यौपाने, भक्तपुर
कविता रानी
बाँच्छे बिम्ब पिएर
खाजा न पानी ।१
बस्छे चियाइ
भावनाको तालमा
डुङ्गा खियाइ ।२
बनेर खासा
नवरस भरेर
गर्छे तमासा ।३
पोल्टोभरि छन्
अलङ्कार उनैका
थरीथरी छन् ।४
परी जसरी
मोहिनी लगाएर
तान्छे बेसरी ।५
गिदी भरेर
बाल्छे दियो ज्ञानको
ज्योति छरेर ।६
काव्यका छवि
आराधना उनैको
गर्दछन् कवि ।७
चेतन मन
गर्छ तिम्रो प्रशंसा
हुन्न नभन ।८
हिस्स नपार
छिटै देऊ दर्शन
घुम्टो उघार ।९
अनुभवीले
कविताको सिरानी
हाल्छन् कविले ।१०
वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०४ मा प्रकाशित






























