मनीषकुमार शर्मा ‘समित’, मध्यपुर ठिमी, भक्तपुर
‘यति धेरै अपमानित त हामी कहिल्यै भएका थिएनौ ।’ मासबाट एक कुर्लिए ।
‘हो भन्या यो त थोते बुढालाई ठेट्ना मकै चपाउने दिए जस्तो भयो ।’ अर्का पनि कुर्लिए ।
एक दुई गर्दै आवाजले चर्को रूप लिन थालेपछि समारोहमा उपस्थित मन्त्रीले आफ्ना सहायकलाई बोलाउँदै सोधे –
‘के भयो ? के को हल्लिखल्लि हो ?’
‘हजुरले वितरण गर्नु भएको ह्विलचेयरको पाङ्ग्रा नै रहेन छ ।’ हतासमा सहायकले विन्ति बिसाए ।
‘हैन के भनेको ? यो त मेरो पनि सरासर मेरो बेइज्जत भयो । तुरुन्त वितरकलाई उपस्थित गराऊ त ।’ मन्त्रीको मुहारमा चिन्ता र आक्रोस पोखियो ।
वितरकलाई तत्काल उपस्थित गराउँन नसकेपनि फोन सम्पर्क गराए सहायकले । मन्त्री फोनमै वितरकसँग पड्किए –
‘के हो तपाईँको चाला ? यस्तो पनि बेइमानी गर्ने ? हक्काहाक्की लुटमार गर्ने ?’
उताबाट वितरकले नम्रता पेश गर्दै भने– ‘के गर्नु हजुर, सरकारले छुट्याएको रकमको ५० प्रतिशत रकम हजुरलाई टक्राउनु नपरेको भए पाङ्ग्रा सहितको ह्विलचेयर हैन अत्याधुनिक स्वचालित ह्विलचेयर नै पठाइदिन्थे ।’
वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०५ मा प्रकाशित






























