काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएकोमा सरकारप्रति असन्तुष्ट बनेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सजाय सुनाएको भन्दै यसप्रति विरोध जनाएका हुन् ।
उनले पुराना पार्टीहरू हतियार उठाएरै आए पनि उनीहरूमाथि कुनै मुद्दा नभएको बताए । माओवादीहरू जनयुद्धमा हतियार उठाएर आए पनि उनीहरू प्रति कुनै मुद्दा नभएको भन्दै उनले मधेसीमाथि किन मुद्दा लाग्यो भनी प्रश्न गरे ।
अध्यक्ष ठाकुरले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरू कुनै नयाँ घटना नभएका बताए ।
वि.सं.२०८१ असार ४ मंगलवार १७:२२ मा प्रकाशित

























