काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही भएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताएका छन् ।
जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले कम्युनिस्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर नकारात्मक भाष्यलाई चिर्नुपर्नेमा जोड दिए ।
देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत भएको भन्दै प्रधानमन्त्री प्रचण्डले धेरै भएपनि जनताको आशा र अपेक्षाअनुसार काम नभएको भने स्वीकार गरे ।
‘यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ ।’ उनले भने, ‘हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ ।’
क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्दै उनले सरकारको यो प्रयासमा लोकतान्त्रिक र वाम शक्तिको साथ आवश्यक रहेको बताए ।
वि.सं.२०८१ असार १४ शुक्रवार १२:२० मा प्रकाशित






























