काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन संवेदनशील रहेको बताएका छन् । सभामुख घिमिरेले आज बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राखे । उनले भने, “मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ ।”
सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए । ३० वर्षअघि रहस्यम मृत्युवरण गरेका भण्डारीले समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए ।
वि.सं.२०८१ असार १४ शुक्रवार १२:२९ मा प्रकाशित






























