back
CTIZAN AD

मदन भण्डारीसँग बितेका ती रोमाञ्चक पल

वि.सं.२०८१ असार १४ शुक्रवार

927 

shares

किशोर श्रेष्ठ (काठमाडौँ) विसं २०४६ भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कविनारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात् हराए । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आए र धारावाहिक लेख्न थाले, ‘नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।’ त्यसपछि क्रमशः लेखहरु आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सामाजिक साम्राज्यवादी भन्ने गरिएको सोभियत सङ्घलाई नयाँ शिराबाट हेर्ने दृष्टिकोणबारे विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो । त्यतिखेर रसियन कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा उत्कर्षमा थियो ।

त्यसैगरी चीनको तियानमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरुको धर्नाले तनाव थप्दै थियो । हाम्रो टिमका अग्रज रघु पन्तलाई समेत चीनको तरङ्गले नछुने कुरै भएन । त्यसैले उनी त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाले । यसरी पार्टीको आधिकारिक पत्रिका ‘दृष्टि’ पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै यौटा टिम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट संलग्न रहेछन्, मदन भण्डारी । नवयुग त निकाल्यौँ भूमिगत रुपमा तर बजारमा लान र प्रशासनको आँखामा वैधानिकताको धुलो छ्याप्न सम्पादक, प्रकाशकको नाम राख्नैपथ्र्याे । त्यसैले नेकपा मालेको सर्ट फर्म ‘नेत्र कमल पाठक, मानेडाँडा लेकथुम’ भन्ने नाम र थरसहित जुराएर नक्कली काम गरियो । फागुन ७ देखि त जनआन्दोलन शुरु भैहाल्यो ।

विसं २०४६ को परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना, कालीमाटीको दृष्टि कार्यालयमा खुसुक्क प्रकट भए । त्यतिबेलासम्म हामीले उनलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौं । मोटोमोटो ज्यान, हँसिलो, मीठो बोल्ने, त्यस्तो पात्रलाई हामीले पार्टीको ठूलै नेता भनेर अनुमान त लगायौँ तर महासचिव नै भनेर खुलेका थिएनन् । पार्टी प्रवक्ताको रुपमा उनीका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरा भएन । कति नै थिए र ! त्योबेला पार्टी निकट पत्रकार र पार्टीका आफ्ना अखबार । सङ्कटको घडीमा काँध थाप्ने गरी प्रकट हुने बफादार, अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरु !

एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने, खाने, मन माझ्ने, घमण्ड नगर्ने, ठूलो नपल्टिने, राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु सात सय रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रा निम्ति गर्वको विषय थियो । विद्यार्थी राजनीति गर्ने, त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँ जस्तो लाग्ने, संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा हामीलाई ऊर्जा दिइरहे ।

पछि पो चिन्यौँ, यतिञ्जेल हामीसँग रम्ने उनी पार्टीको महासचिव नै रहेछन् । अब विदेशीहरुसँग भेटघाट बाक्लिन थाले । त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टिमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई काममा लगाउने तर पार्टीको नेताहरुलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरु पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो, हामी जे गर्दैछौँ, पार्टीको लागि गर्दैछौं र यहाँ मदन भण्डारीजस्तो नेता पनि छन् जो सादगीमा विश्वास गर्छन् र सामूहिकतामा रमाउछन् । त्यसबाट गुनासो उठ्न स्वतः नपाउने नै भयो । शीर्ष नेतृत्व गुणी हुँदा या पार्टीको इञ्जिन दहे भैदिँदा रेलका डब्बाहरु ऊर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमा लिक नछाडी कुदिरहे जस्तै कार्यकर्तालाई प्रेरणा जाग्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।

एक दिनको सम्झना छ, मदनले भिजिटिङ कार्ड बनाउनुप¥यो भनेको । नक्सालमा डेरा थियो उनको । सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै छापाखाना भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुने गर्छ भन्ने लागेको थियो होला उनलाई । त्यसैले भिजिटिङ कार्ड बनाइदिन आग्रह गरेको । तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत थिए । पैसाको मामिलामा उत्तिकै कडा उनले त्यत्तिकै किन छाप्न मान्थे र ? जीवनमा मलाई अफसोच यही छ कि, मैले मदन कमरेडलाई त्यहीबेला उनको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिन, न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ । तर, पनि सधैँ उनको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु । उनले आशालाग्दो, भर्खर उदाएको पत्रकार हो, यसलाई उठाउनुपर्छ भनेरै मलाई नयाँ दिल्ली लिएर गएर भने राजेन्द्र स्थापितलाई कलकत्ता लागे । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरुमा सरिक गराए ।

म भाकपा माक्र्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरुसँगको भेटघाटमा पनि सरिक भएँ । झिल्लुप्रसाद तिवारी, केशवलाल श्रेष्ठसँगै थिए । पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको, सँगै सादगी भोजन गरेको, हाइफाइवाला होटेल, वातानुकुलित गाडी र स्वादिलो खाना नखोजेको–मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसँग ।

त्यसरी फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षबीच कञ्चनपुर गएको, जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको, दाङ हुँदै फर्केको याद पनि ताजा छ । त्यतिखेर पार्टीमा अलिकति फरक मत प्रकट भइसकेको स्थिति थियो । अशोक राई, सिपी मैनालीहरुको एउटा धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गरेका हुनाले एकै ठाउँमा छन् होला भन्ने त लाग्थ्यो तर उनीहरुको बीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि उत्साहसँगै गाडीमा लिएर आउने कि नआउने भन्ने कुरा पनि अलिअलि विवाद हुँदा मदनले हैन, त्यसो नगरौँ भनेर सँगै हिँडाएको क्षण झल्झली सम्झिरहन्छु ।

पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आएका थिए तर आफ्नो एक भोट पनि नहालिकन राति नै निस्केर घर गए । सिपी मैनाली, मोहनचन्द्र अधिकारी, सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पङ्त्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई ‘दक्ष प्रजापतिको टाउको’ भनिराख्थे ।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादबारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिए । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गरे र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ, त्यसको अगाडि ‘जनताको’ शब्द थप्न लगाए । मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको ‘कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न’ शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ ।

पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि ‘प्रकाश साप्ताहिक’ महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है, यसो गर्दा सन्तुलन रहन्छ, पेशागत मर्यादा देखिन्छ, एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्दै निर्देशन दिए, जुन मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो । विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै, दृष्टि पढ्दै गरेको, खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको, जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला बेला ।

संयोगवश २०५० को वैशाखतिर उनी चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियता क्रममा थिए हु चिन्ताओ, पछि राष्ट्रपति र महासचिव उनीसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा, सानु मिश्र, हरि पाण्डे, माधवकुमार नेपाल, केपी ओली, मुकुन्द न्यौपाने, बाचस्पति देवकोटा, योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राखेका थिए । तर पछि के कारणले हो, म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा, हामी न्युज टिप्थ्यौँ, लेख्थ्यौँ र देशवासीलाई सुसूचित गथ्र्यौं । अहिलेजस्तो इमेल, फेसबुकको जमाना कहाँ थियो र ! जहाँ कहीँबाट फ्याट्ट ‘सेण्ड या पोस्ट’ गर्नलाई ।

उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा थियो । जेठ १ गते उनी पोखरा जानु अगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । उताबाट समाचार कसरी पठाउने त भन्ने कुरा उठ्दा उनले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभरसँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने, अनि मैले त्यसआधारमा समाचार बनाउने भन्ने सहमति भएको थियो ।

तर, अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रुपमा, प्रधान सेनापति गडुल समशेरका मुखबाट सुन्नुप¥यो । त्यसपछिका प्रसङ्गहरु त सबैसामु छर्लङ्गै छन् ।

उनी पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ, न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ, खोजेर ल्याइदिनु भनेका थिए । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उनले भनेका प्रायः सबै कामहरु इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोशिस गरेँजस्तो लाग्छ । एउटै गुनासो छ, त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिन । कारक र कारण जेसुकै होस्, यत्ति जिम्मेवारी पूरा गर्न नसकेकामा चाहिँ मलाई खेद छ, दुःख छ । घरिघरि लाग्छ, त्यति सानो काम पनि किन गर्न सकिन होला ? (लेखक जनआस्था साप्ताहिकका प्रधानसम्पादक हुनुहुन्छ)

वि.सं.२०८१ असार १४ शुक्रवार १२:४७ मा प्रकाशित

बब्लु गुप्ताले माफी मागे

बब्लु गुप्ताले माफी मागे

काठमाडौं । पूर्वमन्त्री तथा संघीय संसद्  बब्लु गुप्ताले सामाजिक सञ्जालमा...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...