काठमाडौँ । वर्तमान व्यवस्थापन साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड बन्द गर्ने तर्फ उन्मुख भएको देखिएको छ । कर्पोरेसनले बिहीबार एक सूचना निकालेर त्यसको छनक दिएको हो ।
एक हप्ता अघिदेखि कर्पोरेसनको आधिकारीक ट्रेड युनियन आन्दोलनमा छ । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँको आधिकारिक ट्रेड युनियन आन्दोलनमा होमिएको हो । आन्दोलन चलिरहँदा वर्तमान व्यवस्थापनले भने बरु संस्था बन्द गर्ने तर नझुक्ने अडानमा देखिन्छ । ट्रेड युनियनले विगतमा आफूहरूसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेको छ ।
ट्रेड युनियनको आन्दोलनको सन्दर्भमा कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले शिखण्डीको भूमिका खेलेको आन्दोलनरत ट्रेड यूनियनले आरोप लगाएको छ । कर्मचारीहरुले श्रेष्ठलाई शिखण्डीको रूप छोड्न आग्रह गर्दै ट्रेड यूनियनको माग पुरा गर्न सुझाब दिए ।
साल्ट ट्रेडिङ्गको सूचनामा के छ ?
साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले बिहीबार निर्देशानुसार सहायक प्रबन्धक मोहन थापाद्वारा हस्ताक्षरित एक सूचना प्रकाशित गर्दै कर्मचारी सङ्गठनको आन्दोलनका विषयमा संस्थागत धारणा सार्वजनिक गरेको छ । केही अमूर्त मागहरूको बारेमा व्यवस्थापनले अटेर गरेको भन्ने सङ्गठनको आरोप मनोगत र एकतर्फी भएको कर्पोरेसनले सूचनामार्फत जनाएको छ ।
‘कर्मचारी सङ्गठनले कर्पोरेसनको दैनिक काम कारबाहीमा असर पर्ने गरी अवरोध कार्यक्रम गर्नुका साथै मूल गेटमा धर्ना बसी कर्मचारी प्रवेशमा रोक लगाउने कार्य गर्दै आएको छ ।’ सूचनामा भनिएको छ, ‘धर्ना एवं विरोधका कार्यमा सहभागीलाई यस प्रकारको काम कारबाही नगर्न नगराउन जानकारी गराउँदा समेत कर्पोरेसनको दैनिक कार्यमा प्रत्यक्ष असर पुराउने गतिविधि भई आएकोले व्यवस्थापनको तर्फबाट यो सूचना प्रकाशित गरिएको छ ।’
कर्पोरेसने कर्मचारी सङ्गठन नेपालबाट हुँदै आएको धर्ना, कार्यमा अवरोध एवं विरोध कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो नियमित कार्य सुचारु गर्न सूचना मार्फत निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ, ‘साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड आवश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम अत्यावश्यक सेवा सञ्चालन गर्ने निकाय रहेको र उक्त ऐनको दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी अत्यावश्यक सेवामा हडताल अवरोध तथा वाधा व्यवधान गर्न निषेध गरी नेपाल राजपत्र खण्ड ७४ सङ्ख्या १३ असार ३ गते नेपाल सरकार गृह मन्त्रालयले सूचना र आदेश जारी गरेको ब्यहोरा कर्पोरेसनका सम्पूर्ण कर्मचारी एवं सरोकारवालालाई अवगत छ ।’
सूचनामा कर्पोरेसनको व्यवस्थापन समक्ष साल्ट ट्रेडिङ्ग कर्मचारी सङ्गठन नेपालले श्रम ऐन, २०७४ को दफा ११६ बमोजिम पेश गरेका सामुहिक दाबी एवं मागहरूको सम्बन्धमा २०७४ को दफा ११७(१) अनुसार कर्पोरेसनको व्यवस्थापन र कर्मचारी सङ्गठनका पदाधिकारीबिच बिभिन्न चरणमा वार्ता एवं छलफल भई मिति गएको मङ्सिर १८ मा २०७४को दफा ११६को उपदफा (२) अनुसारको सहमति भई दुवै पक्षले सहमतिको निर्णय विवरणमा दस्तखत गरेको र उक्त सहमति उपदफा (३) अनुसार दुवै पक्षलाई बाध्यकारी रहेको अवस्था छ भनिएको छ ।
यस्तै मङ्सिरमा भएको सहमति अनुरूप तत्कालीन कार्यान्वयनमा जाने सहमतिको बुँदाहरू कार्यान्वयन भई सकेको र थप अध्ययन अवलोकन गरी दीर्घकालीन रूपमा कार्यान्वयन हुने बुँदाहरूको हकमा कर्मचारी सङ्गठनका पदाधिकारी र व्यवस्थापनका बिचमा पटक पटक छलफल भई अध्ययन अवलोकन भई रहेको पनि सूचनामार्फत जानकारी गराइएको छ ।
यस्तै सूचनामा थपिएको छ, ‘कर्पोरेसनको सेवामा समयगत रोजगारीमा कार्यरत कामदार कर्मचारीको के कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पछिल्लो पटक फाल्गुन १८ गते साल्ट ट्रेडिङ्ग कर्मचारी सङ्गठन नेपालका प्रतिनिधि समेतको उपस्थितिमा कर्मचारी सङ्गठन र व्यवस्थापनको तर्फबाट तोकिएका समितिका संयोजक एवं सदस्यहरूको बिचमा बैठक बसी समयगत रोजगारी (करार सेवा) व्यवस्थापन सम्बन्धमा नेपाल सरकार, विभिन्न सङ्घ संस्थानहरूमा के कस्तो व्यवस्था रहेको छ सोको अध्ययन गर्ने र सङ्गठनका प्रतिनिधिले समेत अध्ययन गरी आगामी बैठकमा थप छलफल गर्ने निर्णय भएको छ ।
करार सेवाको व्यवस्थापन बारेमा समितिका सदस्यहरूको कर्पोरेसनको नियमित कामको व्यस्तताका साथै सङ्गठनका तर्फबाट आजका मितिसम्म पनि उक्त निर्णयानुसारको अध्ययन अवलोकनको विवरण प्राप्त नभएकोले त्यस विषय अध्ययनकै क्रममा रहेको सूचनामा बताइएको छ ।
यस्तै कर्पोरेसन र कर्मचारी सङ्गठनका बिच मङ्सिर १८ गते भएको सहमति श्रम ऐन, २०७४ को दफा १२२ को उपदफा (४) अनुसार दुवै पक्षका लागी वाद्यकारी हुने सहमति सम्झौता भएको एवं सहमति दुई वर्षसम्म कानुन सरह लागू हुने व्यवस्था रहेको समेत जनाएको छ ।
यस सन्दर्भमा कुरा गर्न खोज्दा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्पर्कमा आउन चाहिनन् ।
सेवाग्राहीलाई पनि टेर्दैन साल्ट ट्रेडिङ् प्रशासन
साल्ट ट्रेडिङ् कर्पोरेसन प्रसासन कर्मचारी संगठनलाई मात्र होइन सेवाग्रहीलाई समेत नटेर्ने गरेको पाईएको छ । संवैधानिक व्यवस्था अनुसार सूचनाको माग गर्दा सर्वोच्च अदालतमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले मुद्दा हालेको एक सेवा ग्राहीले बताए ।
यो पनि पढ्नुहोस् ।
विशेष सम्पादकीय : साल्ट ट्रेडिङ् बचाऔँ
ट्रेड युनियनको माग सम्बोधन गर्न साल्ट ट्रेडिङ उदासीन, संस्थै नरहने जोखिम
सूचना लुकाउने प्रयासमा साल्ट ट्रेडिङ
व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन, तीन प्याकेट नुन लिन पाँच घण्टा लाइन
वि.सं.२०८१ असार २७ बिहीवार १६:२० मा प्रकाशित






























