कैलाली । यहाँ स्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।
आर्थिक वर्ष २०७६र७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिएका छन् । उनका अनुसार उपमहानगरले आ.व. २०७६/७७ मा रु १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेकामा आव २०७७/७८ मा रु २० करोड ६० हजार, आव २०७८/७९ मा रु २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा रु २७ करोड ९२ लाख १५ हजार र गत आवमा रु ३३ करोड १२ लाख ५२ हजार आम्दानी गरेको छ ।
राजस्व शाखा प्रमुख ओझाले भने, “हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।” उपमहानगरले गत आवमा सम्पत्ति करवापत रु तीन करोड ४४ लाख २९ हजार, भूमिकरवापत रु एक करोड पाँच लाख ४५ हजार, बहालकरवापत रु सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकरवापत रु ४५ लाख १२ हजार, सवारीसाधनवापत कर रु छ लाख ४० हजार र अन्य करवापत रु पाँच लाख ४९ हजार यथार्थ आम्दानी गरेको उनले जानकारी दिए ।
राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालवापत प्राप्त आय रु ९४ लाख १७ हजार, सरकारी सम्पत्ति बिक्रीवापत रु ६७ हजार, अन्य सेवा शुल्कवापत रु ३८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानीवापत रु २३ लाख १९ हजार, पार्किङ शुल्कवापत रु ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरवापत रु तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरवापत रु एक करोड ९२ लाख ७१ हजार यथार्थ आम्दानी भएको छ ।
व्यक्तिगत घटना दर्ता दस्तुर रु १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर रु चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्डजरिवानाबाट रु ७४ लाख २९ हजार, व्यवसायबाट रु तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व रु सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत रु छ लाख ५८ हजार, सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार, विज्ञापन करबाट रु पाँच हजार र अन्यबाट रु नौ लाख १३ हजार यथार्थ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
वि.सं.२०८१ साउन १७ बिहीवार १४:४७ मा प्रकाशित































