back
CTIZAN AD

मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल

वि.सं.२०८१ साउन २९ मंगलवार

888 

shares

राँझा (बाँके) । राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन् । वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताए ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा बँदेल र बाँदर आतङ्क बढेको छ । रोग, कीराको प्रकोपबाट जसोतसो बचेको बाली वन्यजन्तुले सखाप पार्ने गरेकाले समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने उनकोे भनाइ छ ।

निकुञ्ज क्षेत्रमा अवस्थित राप्तीसोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिमपूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायत टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारूले बताए ।

राप्ती सोनारी गाउँपालिका–८ बालापुरका स्थानीयवासी महावीर खत्रीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे । निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको पक्षमा काम नभएको उनको गुनासो छ ।

राप्तीसोनारीको वडा नं १ मा लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रूपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बैजनाथ गाउँपालिका–१, कोहलपुर नगरपालिकाको वडा नं १२ र १३ का गाउँबस्ती रहेका छन् । मध्यवर्ती क्षेत्रका जनप्रतिनिधिले वन्यजन्तु समस्या समाधानका लागि प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन तथा कृषि समितिमा संयुक्त रूपमा माग गरे पनि सुनुवाइ हुन नसकेको राप्ती सोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए ।

सांसद सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको जनाउँदै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए । उनले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवालाई एक घर रु २५ लाखको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ रु पाँच लाख पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गरिरहेको जानकारी दिए ।

निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई गत आर्थिक वर्ष २०८०÷८१ मा एक वर्षको अवधिमा क्षतिपूर्ति वितरण गरेको छ । त्यसमध्ये अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए ।

 

वि.सं.२०८१ साउन २९ मंगलवार १०:५९ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...