काठमाडौं । नेपाल फेशज फेस्टिवलमा फेसन डिजाइनर दिलमाया मगरको आकर्षक प्रस्तुति रहेको छ ।
झण्डै एक दशकदेखि फेशन डिजाइनिङको क्षेत्रमा सक्रिय फेसन डिजाइनर दिलमाया आफूले डिजाइन गरेका पहिरनहरु अनलाइन सपिङमार्फत विक्रि गर्दै आएकी छन् । सन् २०१८ मा आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन (बागबजार) बाट फेसन डिजाइनिङमा डिप्लोमा गरेकी दिलमायाले हाल आफ्नै बुटिक तथा फेसन डिजाइनिङको अध्यापन गराउने इन्स्टिच्यूट समेत खोलेकी छन् ।
काठमाडौंको पुतलीसडक चोकमा ‘एमकेएम फेसन हाउस’ मार्फत दिलमायाले फेसन डिजाइनिङको डिप्लोमा कोर्ष (बुटिक ट्रेनिङ) सेन्टर सन्चालन गरेकी छन् ।
उक्त अवधिमा उनले आफ्नो फेसन हाउसबाट झण्डै १५ वटा ब्याचमार्फत फेसन डिजाइनरहरु उत्पादन गरिसकेकी छिन् । यो फेसन हाउसमा छदेखि सात महिनाको कोर्षका लागि एउटा ब्याचमा बढीमा ३० जना फेसन डिजाइनिङका विद्यार्थीहरुलाई प्रशिक्षण दिइन्छ ।
दिलमायाको फेसन हाउसमा उनी आफैं फेसन डिजाइनरको प्रशिक्षकको रुपमा सक्रिय छिन् । उनले ड्राफटिङको काम गर्छिन् । थप दुई जना प्रशिक्षकहरुले स्टिचिङ तथा फेब्रिक कटिङको प्रशिक्षण दिने गरेको दिलमाया बताउँछीन् ।
एमकेएम फेसन हाउसमा फेसन डिजाइनिङको प्रशिक्षणमात्र दिइँदैन, फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरु बुटिकको रुपमा विक्रीमा समेत राख्ने गरेको दिलमाया बताउँछिन् ।
एमकेएम फेसन हाउस तथा डिजाइनर दिलमाया मगरको रुपमा उनले धेरैवटा इभेन्टहरुमा आफूले डिजाइन गरेका पहिरनहरु प्रदर्शन गराइसकेकी छिन् । मिस नेपाल, मिस्टर नेपाल, एनभोग, मिसेस नेपालहुँदै आगामी शनिवार आयोजना हुने लिटिल मिस एञ्जलका ३९ जना प्रतिस्पर्धिहरुले समेत दिलमाया तथा एमकेएम फेसन हाउसकै डिजाइनहरु प्रदर्शन गर्दैछन् ।
‘हाम्रो फेसन हाउसमा काठमाडौं बाहिरबाट पनि दिदी–बहिनीहरु फेसन डिजाइनिङको अध्ययन गर्न आउनु हुन्छ, मगर भन्छिन्– ‘काठमाडौं भित्र तथा बाहिरका पछिल्लो समय गृहिणीहरुले समेत फेसन डिजाइनिङ कोर्षमा रुची राख्न थाल्नु भएको छ । शहरदेखि गाउँसम्म डिजाइनर वेयर प्रयोग गर्ने क्रेज बढेको छ ।’
यसैबीच, गत शुक्रवारदेखि आइतवारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित ‘नेपाल फेसन फेस्टिभल’ मा आयोजित डिजाइनर रनवेमा डिजाइनर दिलमाया मगरले पनि सहभागिता जनाएकी थिइन् । उनले आफूले फेसन डिजाइनिङ अध्ययन गरेको आईआईएफटीको तर्फ फेसन फेस्टिभलमा सहभागिता जनाएकी थिइन् ।
फेसन नेटर्वक नेपालले आयोजना गरेको नेपाल फेसन फेस्टिभलको पहिलो दिन नै आयोजित रनवेमा दिलमायाका पहिरनहरु विभिन्न नौ जना मोडलहरुले प्रदर्शन गरेका थिए । डिजाइनर रनवेका लागि दिलमायाले नौ वटै पहिरन तयार पारेकी थिइन् । उनले यसका लागि वेडिङ तथा पार्टीवेयर थिममा पहिरनहरु डिजाइन गरेकी थिइन् ।
उक्त फेसन शोमा दिलमायाले तयार पारेका पहिरनहरु विभिन्न मोडलहरुले प्रस्तुत गरिरहँदा उपस्थित दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
‘फेसन डिजाइनिङलाई अहिले अधिकांशले आफ्नो जीवन शैली नै बनाइसकेको अवस्थामा यही विषयलाई करियर बनाउनेहरुको संख्या पनि बढ्दो छ, दिलमाया भन्छिन्– ‘नेपाल फेसन फेस्टिभल जस्ता ठूला इभेन्टहरुले हामी जस्ता फेसन डिजाइनरहरुलाई आफ्नो लक्ष्यसम्म पुग्न सहज बाटो बनाइदिन्छ भन्ने अनुभव गरेकी छु ।’
वि.सं.२०८१ भदौ १६ आइतवार ०८:४२ मा प्रकाशित































