back
CTIZAN AD

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

वि.सं.२०८१ असोज २६ शनिवार

819 

shares

सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनी फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन् । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फुलपातीका दिन सबै जना घर फर्किदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चडेका छन् ।

“हामीलाई के दसैँ, के तिहार ! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको”, लामो सुस्केरा हाल्दै राईले भने,“काम नगरी हुँदैन । घरमा आमा बुवा, भाइबहिनी पाल्नै ¥यो, यतिबेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो ।”

जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन् । अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दसैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन् । उनीहरूले भारी बोकेर दैनिक रु दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए । सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन् । अन्य समयमा कलेज जानुपर्ने भएकाले दसैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताए । उनले भने, “पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु ।”

दसैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दसैँ नै बिर्साउने गरेको छ । पिठ्युँमा गह्रौ भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदिप मगरले भने, “हामीलाई दसैँको कुनै वास्ता छैन् । यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन । हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु । दसैँ नमनाएको पनि पाँच÷वर्ष नै भयो । विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ । कसरी दसैँ मनाउनु त !”

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ । त्यसैले पर्यटन व्यवसायीहरू पनि दसैँतिहार जस्ता चाडपर्वलाई छोडर ट्रेकिङमा जाने गरेका छन् । खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ । त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवगमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउँछन् । “वर्षदिनमा मनाइने दसैँ जस्ता महत्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन । त्यसैले साथीसँगी मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ । उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ”, उनले भने ।

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन् । भदौँ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन सुरु भएसँगै युवाहरू चाडपर्व नभनी व्यवसायमै व्यस्त छन् । खुम्बुमा वर्षको दुईपटक पर्यटकयाम हुन्छ । पहिलो फागुन, चैत, वैशाख र असोज, अर्को कार्तिक र मंसिर । त्यसैले यसपटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ ।

सगरमाथासहितका हिमश्रृङ्खला अवलोकनका लागि आएका पर्यटकहरूले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवाहरूसमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । “यहाँ वर्षको करिब छ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दसैँको भन्दा व्यवसाय चलाउने चटारो हुन्छ, यही व्यवसायबाट घर खर्चदेखि सबै गुजरा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ”, दर्नालले भने । करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको सुनाए । ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिड्नुपरेको उनको भनाइ छ ।

हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाइ उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटकहरू हवाइमार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए । पर्यटकको चाप बढेसँगै खुम्बुका होटल तथा लजहरू भरिभराउ भएका छन् । जसकारण व्यवसायीहरूमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । “अन्य समयमा खाली हुने होटलहरू यतिबेला खचाखट भरिएका छन् । बास पाउन मुस्किल छ”, उनले भने ।

पर्यटकको आागमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ । लुक्लास्थित गाउँपालिकाको जाँचकेन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन् । निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दसैँ मनाउन पालो लगाएर जानुपरिरहेको बताए । “थोरै कर्मचारीले धेरै पर्यटकहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखिकरण गर्नुपर्ने भएकाले सबैले घर जान पाउँदैनौँ । के गर्नु काम गर्नैपर्छ । यसैमा रमाइरहेका छौँ”, उनले भने । रासस

वि.सं.२०८१ असोज २६ शनिवार ११:१७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...