back
CTIZAN AD

दुप्चेश्वरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

वि.सं.२०८१ मंसिर २३ आइतवार

957 

shares

त्रिशूली (नुवाकोट) । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।

यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ ।

दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए । उनका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ ।

मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा-नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहेका अध्यक्ष थापाले बताए ।

दुप्चेश्वर महादेवको महिमा

पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताए । गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उनको भनाइ छ ।

यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताए । उनका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् । धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन् ।

दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ । महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ ।

काठमाडौँको टोखा-छहरे खण्डअन्तर्गत टोखा-छहरे-चौघडा-खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे-ढिकुरे-माछापोखरी-खरानिटार-समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर-पूर्वमा यो मन्दिर अवस्थित छ ।

मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ ।

मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ । रासस

वि.सं.२०८१ मंसिर २३ आइतवार १४:१३ मा प्रकाशित

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...