back
CTIZAN AD

जाडोयाममा गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

वि.सं.२०८१ मंसिर २३ आइतवार

1.3K 

shares

बुनु थारु/काठमाडौं । काठमाडौंकी एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पु¥याइयो ।

उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार उनलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा बम भन्छन्, “बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।”

जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् । मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

डा बम भन्छन्, “जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नलिएर आओस् ।”

झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ ।

“कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बोन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बोन मोनोअक्साइड पोइजनिङ हुन्छ”, उनी भन्छन् ।

कार्बोन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरु देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरुलाई अनुभव गर्न नपाइ बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउँछन् । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ ।

छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ भन्छन्, “आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बोन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।” उनले कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा भारी हुने, टाउको दुख्ने अनि बेहोस् हुने खालका लक्षण देखिने गरेको बताए ।

डा श्रेष्ठ भन्छन्, “सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला बाल्नु हुँदैन । पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका पूर्ण रुपमा बन्द गरेर नुहाउनु हुँदैन ।”

विज्ञकाअनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नु हुँदैन । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने ,घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकी प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ ।

डा श्रेष्ठ भन्छन्, “उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।”

धेरै जसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोस पछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभएपनि अक्सिजनको कमीले मष्तिष्कलाई क्षति पु¥याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पु¥याउँछ । त्यस्तो बिरामी बाँचेपनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ । भने बिरामी श्ययामा बसेर जीवन बिताउने बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा श्रेष्ठको भनाइ छ ।

चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिन्छन् । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ की छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।रासस

वि.सं.२०८१ मंसिर २३ आइतवार १३:५३ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...