काठमाडाैँ । पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।
हिमालयन वेलनेस फाउण्डेशन र लाइन्स क्लब नागार्जुनको सहकार्य तथा सहयोगमा आयोजित उक्त कार्यक्रममा बालगुरुहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। बिहान ७:०० बजेदेखि ९:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा योग, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न योगासनहरूको अभ्यास गराइएको थियो।
कार्यक्रममा अशोक शर्मा भट्ट, सबनम खड्गी, रानु फुयाल र देवेन्द्र श्रेष्ठले योग तथा साउन्ड हिलिङका विभिन्न अभ्यासहरू प्रस्तुत गर्दै सहभागीहरूलाई अनुभव गराउनुभएको थियो। साथै, बालगुरुहरूले सूर्य नमस्कारको विशेष प्रस्तुति दिनुका साथै कठिन तथा आकर्षक योगासनहरू समेत प्रदर्शन गरेका थिए।
कार्यक्रममा करिब २५ जना सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले योग, ध्यान तथा साउन्ड हिलिङको अभ्यासमार्फत मानसिक शान्ति, शारीरिक आनन्द तथा सकारात्मक ऊर्जाको अनुभव गरेको बताएका थिए।
पवित्र पशुपति क्षेत्रको प्राकृतिक तथा आध्यात्मिक वातावरणमा सम्पन्न यस कार्यक्रमले योग, ध्यान र साउन्ड हिलिङमार्फत स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको सन्देश प्रवाह गरेको छ।
वि.सं.२०८३ भदौ ७ आइतवार १२:३७ मा प्रकाशित






























