back
CTIZAN AD

सुन्तलाखेतीले बसाइँसराइलाई रोक्दै

वि.सं.२०८१ पुस १६ मंगलवार

534 

shares

म्याग्दी । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।

सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे । “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।”

करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाडेका थिए । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसके । “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।”

उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताए ।

वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताए । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी भएको बताउनुभयो । “सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उनले भने, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” मरेक र बालम गाउँमा २१ घरपरिवारको बसोबास छ । बीस घरले सुन्तलाखेती गरेका छन् । प्रतिघर रु एकदेखि २० लाखसम्म सुन्तलाबाट आम्दानी गर्छन् ।

बेनी नगरपालिकाको विकट र दुर्गम बस्ती भए पनि मरेकका घर खाली र जग्गा बाँझो नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका मरेकका बासिन्दा वीरबहादुर थापाले बताए । “बेनीबजारमा घर र व्यवसाय भए पनि सुन्तलाखेतीले गर्दा मैले पनि गाउँ छाड्न सकेको छैन”, उनले भने, “सुन्तलाखेतीले रोजगारी, आम्दानीको अवसर सृजना गरेकाले मरेकबाट बसाइँसराइ रोकिएको छ ।” बेनीमा फलफूल तथा तरकारी व्यवसाय गर्ने मरेकका काजी थापाले विदेशबाट फर्केपछि गाउँको खेतबारीमा सुन्तलाखेती गरेको बताए ।

गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेकाले रु एक करोड ५० लाख भित्रिने अनुमान गरिएको हालै त्यहाँको बगैँचा निरीक्षण गरेका कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् ।

अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । उनका अनुसार अनुकूल मौसम, उत्पादन दिने नयाँ बिरुवा थपिएको, दाना झर्ने समस्या कम भएको र फल धेरै लागेकाले जिल्लाभर गत वर्षको तुलनामा एकतिहाइले सुन्तला उत्पादन वृद्धि भएको अनुमान गरिएको छ ।

मरेकको छिमेकी छेपारेका बासिन्दाले पनि व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन् । कच्ची सडकको सुविधा भएको मरेकमा उत्पादन भएको सुन्तलालाई बजारको समस्या छैन । व्यापारीले बगैँचाबाट प्रतिकिलो रु ७५ मा सुन्तला खरिद गरेका छन् । अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला लैजाने गरिएको उनले बताए ।

मरेकको भिरालो पाखा सुन्तला बगैँचाले भरिएको छ । बगैँचा पहेँलपुर सुन्तलाले रङ्गिएर मनमोहक बनेको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताए । आयआर्जनका लागि गाउँ छाड्नुपर्ने समस्या घटाउन सुन्तलाखेती प्रभावकारी भएको वडाध्यक्ष पुनले बताए ।

 

वि.सं.२०८१ पुस १६ मंगलवार ०९:२१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...