“धर्म”दैवी वा अदृष्य शक्तिमा गरिने विश्वास, आस्था वा सद्भाव हो। धर्मका अनुयायीहरु ज्ञानको श्रोत भनेको धार्मिक गुरु, धार्मिकग्रन्थ वा पुस्तक वा आत्मज्ञान भनी विश्वास गर्दछन्। धर्मको कुनै सिमा हुँदैन र धर्ममा हरेक प्रश्नको उत्तर हुन्छ भन्ने कुरामा विश्वास गर्दछन। धार्मिकग्रन्थ वा पुस्तकमा लेखिएका सबै कुराहरुलाई सहर्ष स्विकार गर्दछन् । जीवन र जगतमा जेजस्ता घटना वा दुर्घटना हुन्छन ती सबै ईस्वरीय लीलाको रुपमा ग्र्हण गर्दछन्। अर्को शब्दमा दैवको लीला, कर्मको लेखा, भाग्यको खेल, पुर्व जुनिको कमाई आदि जस्ता भावले स्विकार गरेको पाईन्छ। धर्ममा प्रश्न गर्नु महापाप हो र त्यसो गरेमा यो जुनी मात्रै होईन अर्को जुनिहरुमा समेत नर्कको दुस्ख भोग्नु पर्ने त्रासले त्रसित हुन्छन।
त्यसैगरी भौतिकवादी अलौकिक चमत्कार र अदृष्य शक्तिमा विश्वास गर्दैनन । गहन बैज्ञानीक अध्ययन र अनुसन्धान गरी भौतिक एवं अभौतिक बिष्लेषण गरी प्रमाणित तथ्यमा मात्र विश्वास गर्दछन।
यो लेखमा मैले आध्यात्मवाद र भौतिकवादको बारेमा नभै अहिले चलीरहेको श्रीस्वस्थानी व्रतकथामा अन्तर्निहित कथाबस्तुले दिने सन्देश र मेरा केही अनुउत्तरित प्रश्नहरु राख्ने प्रयास गरेको छु।
१६ औ सताप्दिमा सुरु भएको श्रीस्वस्थानी व्रतकथा अहिलेको परिवेसमा कति सान्द्रभिक छ रु यदी समयसापेक्ष छैन भने त्यसमा प्रश्न उठाउनु पर्दछ भन्ने मान्यता राख्दछु । सनातन हिन्दू धर्म र संस्कृतिमाथि प्रहार मनसायले होईन सान्द्रभिकताको तथ्य उजागर गर्नु हो। अहिले एक्काईसौ सताब्दिमा १६ औ सताब्दिको कथाको सान्द्रभिकतामा प्रश्न बान्छनिय देखिन्छ। परापुर्वकालदेखि चल्दै र मान्दै आएको, जिजुबजै, हजुरआमाहरु, आमाहरुले मान्दै र पढदै आएको तर्कको आधारमा हाम्रो चेतनाको स्तरमापन हुनुहुँदैन । आलोचनात्मक चेत र निरन्तर बिकासको क्रमलाई अवमुल्यन गर्यौ भने हामी अगाडि बढन सक्दैनौ।
श्रीस्वस्थानी व्रत कथा पितृसत्तावादी, ब्राह्मणवादी पुरुषले आफ्नो स्वार्थको लागि लेखेको कथा हो भन्न हिच्किचाउनु पर्दैन। अबैज्ञानीक, शक्ति स्वार्थको लागि लडाईं झगडा, स्तुती, चाकडि र महिलालाई पुरुषको भोग विलास र सहयोगीको रुपमा मात्र स्विकार गरिएको छ। सतीदेवीको आत्मदाह, गोमाको बालविवाह, अनमेल विबाह र वृन्दाको बलात्कारलाई मान्यता दिइएको छ।
महिलालाई हेर्ने द्र्ष्ट्टिकोण
श्रीस्वस्थानी व्रतकथा अध्याय ४ मा दक्षप्रजापतिले आफ्नी छोरी सतिदेवीलाई बिधाई गर्दा “तेरो कर्ममा यस्तै रहेछ, यसैको जौतिल खाएकी रहिछस’ जस्ता पुरुषलाई प्रधान किन बनाईयो ? महादेव र सतिदेवी कैलाशमा पुगेपछी महादेव आफुले भाङधतुरो खाई चारदिनसम्म मस्त निन्द्रामा सुत्नु उचित थियो ? त्यसैगरी सतिदेवी सधैं श्रङ्गार गरी बस्ने स्वभाव र स्वामिकै भक्तिमा चित्त लगाउने भनी उल्लेख छ। के महिला पुरुषको चित्त लगाउने “बस्तु” हुन ? कयौ प्रसंगमा महादेव, ॠषि र देवताहरु बाहिरबाट घर आउँदा उनिहरुको पाउ धुन श्रीमतिहरु कमण्डलु लिएर ढोकामा उभिने कुरा उल्लेख छ। महिला भनेका पुरुषको सेवा गर्ने पात्रको रुपमा चित्रणले बिभेद देखिदैन र ? त्यसरि नै १२ औ अध्यायमा स्वस्थानी पूजा गरीसकेपछि प्रसाद दिदा श्रीमान भए श्रीमानलाई, श्रीमान नभए छोरालाईछोरा भनेको आफुसंगै बस्ने आफ्नो उत्तराधिकारी सम्झनु) , त्यो पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए गंङ्गामा बगाउनु भनिएको छ। यहाँ छोरीलाई संन्तान वा उत्तराधिकारीको रुपमा स्विकारसम्म गरिएको छैन। बरु मितको छोरा अगाडि सारीएको छ तर छोरीको कुनै गणना नहुनु पितृसत्तावादी सोचको तुच्छ रुप होईन र ? श्रीस्वस्थानी व्रतकथा अध्याय १६ मा राबणले तपस्याबाट महादेव खुशी भै पार्वती माग्दा ‘लौ लैजा’ भनी पार्वतीलाई नै दिएको चर्चा छ। आफ्नी श्रीमतिलाई समेत वरदान स्वरुप दिनु ठीक थियो ? त्यस्तै अध्याय १७ मा जालन्धरले पार्वतीलाई छल्न गएको सट्टामा जालन्धरको पत्नी वृन्दाको पातिवर्त्य धर्म नष्ट गर्न भनी बिष्णुलाई पठाउनु महिलामाथिको अन्याय होईन ? एकपटक असफल भै फर्केका बिष्णुलाई फेरी पठाई ललाईफकाई वृन्दालाई कुकर्म गर्नु महिला हिंसामात्र नभै अपराध होईन ? व्रतकथाको अध्याय २१ मा स्त्रीजातिको सबै तिर्थ, व्रत, दान, धर्म आफ्ना पति हुन भनिएको छ? स्त्रीले आफ्नो पतिलाई रिस गरे डेडी हुने, गाली गरे भक्भके, मुख लागे लाटी, लुकाई खाए कुकुर्नी र झगडा गरे द्रोही हुने भनिएको छ। यो पितृसत्तामक सोचको नित्कृष्ट नमुना होईनन ? यदी पुरुषले त्यस्तै कर्म गरे के हुन्छ ? केही उल्लेख छैन।
अध्याय १८ मा, पतिवर्ता धर्म भनेको बडो ठूलो धर्म हो भनिएको छ। तर पत्निवर्ताको कुनै चर्चासमेत छैन। अझ पुरुषसंग प्र्तिसोध साध्न महिलालाई बलत्कार गरेका उदाहरण माथि नै उल्लेख गरिएको छ। के पतिवर्ता जस्तै“पत्नि वर्ता” हुनुपर्दैन ? अध्याय २४ मा, गोमाको पुत्र नवराज लावण्य देशको राजा भएपछी त्यस शहरकी राजाको पुत्री लावण्यवतीसंग विधिपुर्वक विवाह गरिएको उल्लेख छ। नवराजको पहिले नै चन्द्रावतिसंग विाह भएको तर राजा हुँदा आफ्नो श्रीमती चन्द्रावतिको कुनै सोधखोज नगरि बहुविवाह गरेको देखिन्छ। पछीमात्र चन्द्रावतिको खोजी भएको छ। घरमा एउटा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्नु उचित थियो ? के नवराजको सट्टामा चन्द्रावति कुनै देशको महारानी भएर कसैसंग विवाह भएर नवराजलाई बोलाएको भए स्विकार हुन्थ्यो ? श्रीस्वस्थानी व्रतकथा भरी महिलाहरुको आफ्नो कुनै स्थापित परिचय दिएको छैन। ऋषिका श्रीमती, बार्ह्मणका ब्राह्मणी, नागका नागिनी भनिएको छ। के महिलाहरुको आफ्नै परिचय छैन ? सारमा श्रीस्वस्थानी व्रतकथाले लैँगिक भेदभावलाई संस्थागत गर्न थप हौसाएको देखिन्छ। मैले श्रीस्वस्थानी व्रतकथा पढिसक्दा यो निरपेक्ष पुरुष भक्ति गाथाको संग्रह हो भन्न कुनै हिचकिचावट रहदैन।
केहीअनुउत्तरित प्रश्नहरु :
पृथ्वीको उत्त्पती कसरी भयो ?
श्रीस्वस्थानी व्रतकथा अध्याय २ मा पृथ्वीको उत्त्पत्ती भगवान बिष्णु आफ्नै कानेगुजीबाट जन्मेका मधुरकैटभ दैत्यलाई मारेपछी दैत्यको बोसो समुन्द्रको पानीमा जम्यो र पृथ्वीको निर्माण भयो । मासुको पर्वत भएर हाडले पत्थर भयो भनिएको छ। पृथ्वीको उत्त्पती यसरी नै भएको हो भने बैज्ञानीक तथ्य सबै हावादारी हुन् ? हाम्रा बिधालय र क्यम्पसका पाठयपुस्तहरु अनुसार पढाईने तथ्यहरु झुठ हुन् ?
प्राणिको सृष्टि कसरी भयो ?
बह्माले चिताउना साथ ॠषिहरुको सृष्टि भएको भनिएको छ। यसरी सृष्टि भएका मध्य कश्यप ॠषिका तेह्र पत्निबाट दानव, अप्सरा, मनुष्य, चराचुरुङी, जनावर्, सर्प आदि जन्मिएको कुरा उल्लेख छ। जिव बिकासबारे बिज्ञानले जे प्रमाणित गरेको छ ती सबै मनगणन्ते हुन ? अझ मनुका गर्भदेखि ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र गरी मनुष्यलाई नै बिभाजन गरी जन्माउनु बिभेद होईन ?
के देवताहरु शक्ति र भक्तिका भोका थिए ?
श्रीस्वस्थानी व्रतकथा अध्याय २ मा उल्लेख गरिए अनुसार कश्यप ॠषिका छोरा ईन्द्रले कठोर तपस्या गरी अमरावतिको अधिपती भएको, अग्नी सुद्दावतिको, निॠ॑ति क्रिष्णावतिको, बरुण श्रद्दावती, यम पुरिको अधिपती भएको आदि उल्लेख छ। के कठोर तपस्या शक्ति लागि गरिएको थियो ? किन श्रीमहादेव खुशी हुँदा अधिपती दिदै पठाउनु भयो ? अध्याय १९ मा ब्रह्म्पुर शहरका शिव भट्ट र सती दम्पतिको दानले ईन्द्रको अमरावतीको सिंहासन हल्लाएको कुरा उल्लेख छ। त्यसलाई रोक्नको लागि ईन्द्र महादेवको शरणमा गए। महादेव भिक्षुक भै शिव भट्टको घरमा गएर गोमालाई सात बर्षको उमेरमा सत्तरी बर्षको वृद्दसंग विवाह होस । तेरा बा आमाको सम्पत्ति नाश होस। तलाई दु:ख होस, तेरा बा आमा चाडै मरुन जस्ता श्राप दिनु न्यायोचित थियो ? २० औ अध्यायमा ७० बर्षका बुढासंग गोमाको विवाह हुनु कुन धर्म र नैतीकता हो ? अध्याय १९ मा ब्रह्मपुरमा रहेका शिव भट्ट र सती नाम गरेका दम्पतिको बारेमा उल्लेख गरिएको छ। उनिहरुमा लोभ, मोहन भएका, झुटो नबोल्ने र आफ्नो कर्म गर्ने ईमान्दार हुँदा हुँदै पनि गरिव पात्रको रुपमा उल्लेख गरिएको छ। ईमान्दर र मेहनती हुँदाहुँदै पनि महाकष्ट गरी देवताहरुको पूजासेवा नगरेसम्म धन र सन्तान प्राप्ति नभएको भनिएको छ। के ईमान्दार हुनु धर्मको लागि प्रयाप्त छैन ? चाकडी, चप्लुसी, भजनकृतन र शक्तिको अगाडि दास हुनु पर्ने नै धर्म हो ?
के महादेव र विष्णुले छलकपट गर्न हुन्थ्यो ?
श्रीस्वस्थानी व्रतकथा अध्याय ३ मा दक्ष प्रजापती र विरणिका तेत्तिस कोटी छोरीहरुको विवाह तेत्तिस कोटी देवतासंग हुँदा महादेवलाई जानकारी नगराई गरे होलान ? विबाह भैसकेपछि दक्ष प्रजापतीको जेठि छोरी सतिदेवी माग्न आँफै जादा दक्ष प्रजापतीको गरेको अपमान महादेवले किन सहे ? आफुलाई सतिदेवी दिन दक्ष प्रजापतीले ईन्कार गरेपछि विष्णु जानु र विष्णुले आफुले विबाह गर्ने भनी सतिदेवी माग्नु, विबाहको दिन षडयन्त्रपुर्वक सतिदेवीको विबाह महादेवसंग गर्ने चाजोपाजो मिलाउनु छलकपट र धोखाधारिको नमुना होईन र ? महादेव र पालनकर्ता बिष्णुले यत्रो ठुलो छलकपट गर्नहुन्थ्यो ? धर्म कै परिभाषा अनुसार यो महापाप होईन र ? देवताले जे कर्मगर्दा पनि हुने र भक्तले त्यसैको गुणगान गाउँनु पर्ने ?
देवता र दानवलाई एकअर्का बिरोधी वरदान किन दिईयो ?
श्रीस्वस्थानी व्रतकथा अध्याय ५ मा देवता र दानवहरुले तपस्या गरी महादेव खुशी भएपछी उनिहरुले मागेको बर दिएको उल्लेख छ। यसरी वर दिदा पटकपटक देवता र दानवको लडाईं भएको, काटमार र हिंसा भएको उल्लेख छ। महादेवले वरदान दिदा त्यस्तो वर किन मागे ? आफुले दिने वरदानले दिर्घकालिन अक्सर के पर्ला जस्ता बिचार किन गरिएन ? दुई पक्षको लडाईं झगडामा फेरी आँफैले हस्तक्षेप किन गर्नु पर्यो ?
दक्ष प्रजापतीले आफ्नो ज्वाँई महादेवको शक्ति किन थाहा पाएन्न ?
श्रीस्वस्थानी व्रतकथा अध्याय ६ मा दक्ष प्रजापती र विरणीले अश्व मेघनाउको यज्ञ गर्दा आफ्नो जेठो ज्वाँई महादेव र छोरी सतिदेवी बाहेक अरु तेत्तिस कोटी देवता ज्वाँई, ब्रह्मा, विष्णु आदि सबैलाई निम्ता गरेको उल्लेख छ। तेत्रा तेत्तिस कोटी देवताका ससुरा दक्ष प्रजापतीलाई महादेवको शक्तिको बारेमा किन जानकारी भएन ? आफ्नो छोरी सतिदेवीले आफ्नो श्रीमानको शक्तिको बारेमा किन आफ्ना आमाबालाई जानकारी गराईन्न ?
निमुखा सर्वसाधारणको कत्ले आमहत्या किन गरियो ?
दक्ष प्रजापतिले यज्ञस्थलमै सतिदेवीले हामफाल्दा महादेवको डरले अग्नि ले शरीर सतिदेवीको डढाउन डराएको उल्लेख छ। त्यो बेला महादेवले सतिदेवीलाई किन बचाउन सकेनन ? श्रीस्वस्थानी व्रतकथा अध्याय ७ मा सतिदेवी यज्ञकुन्डमा हामफालेपछी महादेवले बिरभद्र र महाकालीलाई पठाएर यज्ञमा सामेल केटाकेटिहरु, बूढाहरु, देवता देखि ॠषि सबैलाई दर्दनाक यातना गरी मारेको उल्लेख छ। के यज्ञमा सामेल भएका सर्वसाधारणलाई कल्तेआम हत्या गर्नुन्यायोचित थियोरु तेत्तिस कोटी देवताका र स्वय महादेवका सासु ससुराको यज्ञमा सहभागि हुनु अपराध थियो ?
महादेव आफ्नो आलोचना सुन्न किन डराउनु हुन्थ्यो ?
दक्ष प्रजापतिले आफ्नो जेठो ज्वाँई अर्थात महादेवको बानी ब्यहोरा, व्यबहार र खानपानको आलोचना गर्दा महादेव किन त्यती बिग्न सिसाउनु भयो ? आँफै सर्वज्ञाता भएर पनि आलोचना देखि डराउनुको कारण के हो ? दक्ष प्रजापतिको टाउको काटिएको र पछी विरणीको बिलापले यज्ञमा वली चढाइएको बोकाको टाउको जोडीएको प्रसंग उल्लेख छ। के यज्ञमा वली दिने गरिन्छ ?
के पृथ्वी दक्षिण पुर्व एसिया मात्र हो ?
श्रीस्वस्थानी व्रतकथा अध्याय ९ र १० मा उल्लेख भएअनुसार श्रीमहादेवले सति देवीको मृत शरीर बोकी पृथ्वी भ्र्मण गरी हिंडेको उल्लेख छ। यसरी हिडदा जहाँ सतिदेवीका अङ्ग पतन भयो त्यहाँ त्यहा एकएक पीठको उत्त्पती हुँदा सातकोटी पिठको उत्त्पती भएको उल्लेख छ। ति सातकोटी मध्य ५० पिठको मात्र वर्तकथामा उल्लेख छ। बाँकी पिठ कहाँ छन ? उल्लेख भएका ५० पिठहरु पनि प्राय सबै दक्षिण पुर्व एसियामा छन्। के त्यो बेलाको पृथ्वी दक्षिण पुर्व एसिया मात्र हो ?
बिना अपराध पनि श्राप लाग्ने पनि हुन्छ ?
श्रीस्वस्थानी व्रतकथा अध्याय १२ मा ब्रह्मपुर गाउका ऋषिहरु गंगामा नुहाउन गएका बेला आफ्नो श्रीमानहरुबाट कामभोग संतुष्टन भएका एकसय ऋषिपत्निहरु श्रीमहादेवको पछि लागेर गएको उल्लेख छ। यसरी आफ्ना श्रीमती महादेवको पछि देखेर ऋषिहरुले महादेवको लिङ्ग पतनको श्राप दिएको र महादेवको लिङ्ग पतन भएको उल्लेख छ। बिना अपराध पनि श्राप लाग्ने पनि हुन्छ ? के यो फन्टुस र हावादारी भएन र ?
के पापमोचन हुने बिधी न्याय संगत छ ?
श्रीस्वस्थानी व्रतकथामा वर्त बसेमा वा पिठमा वा कुनै देवीदेवताको भक्तिभावले पूजा अर्चना गरेमा सबै पाप नाश हुने कुरा उल्लेख छ। अरुलाई हानी नोक्सानी हुने काम गर्नेहरुलाई पुर्ण छुट हुने कुरा न्यायसंगत छ ? जस्तो सुकै कुकर्म गरे पनी देवताको चाकडी गरेपछी छुट हुने (पापमुक्त हुने) विडम्वनापूर्ण प्रचलन के ठिक थियो वा हो ?
श्रीस्वस्थानी व्रतकथा अध्याय २८ मा श्रीस्वस्थानीको वर्त गर्दा चन्द्रावतिको कुष्ठ रोग निको भएको उल्लेख गरिएको छ। कुष्ठ रोगको जैविककरण र त्यसको आधुनिक उपचार विधी सम्वन्धमा के हामी १६ औ सताप्दिमा फर्कन सक्दछौ ? के सबै कुष्ट रोगको उपचार हुने अस्पतालहरु बन्द गरि स्वस्थानी वर्तको प्रवर्तन तिर लाग्न सक्दछौ ?
रअन्त्यमा
स्वस्थानी एक परिकल्पित उडन्ते कथा हो। हिन्दु समुदायमा प्रचलित धेरै व्रतहरू महिला केन्द्रित बनाईएका छन्। यही परीकल्पित कथा कालान्तरमा व्रतकथाको रूपमा विकसित भएको हुनुपर्दछ। स्वस्थानी कथामा पुरुषहरुलाई परस्त्रीगमन बहादुरीको रुपमा उल्लेख गरिएको छ। एकै प्रकारको अपराध गर्नेहरुलाई पनि उनिहरुको पदको आधारमा विभेद गरिएको देखिन्छ। उदाहरणको लागि पार्वतीसँग समागमको इच्छा राख्ने जालन्धर मारियो। निर्दोष वृन्दालाई छलपूर्वक समागम गर्ने विष्णु किन मारिएन ?
आफुलाई मार्क्सवादी भौतिकवादी बुद्दिजिवी हुँ भन्नेहरुले नै टुप्पी हल्लाएर र भाका हालेर स्वस्थानी पढेको देख्दा मेरो कम्परो तातेर आउँद छ। मैले यो लेखी रहदा म माथि विधर्मी, क्रिश्चियन, डलरवादीको बिल्ला लाग्छ सक्दछ। म हिन्दू संस्कृतिमा जन्मिहुर्केको भौतिकवाद तिर उन्मुख ब्यक्ति हुँ। यदि कसैले मेरा अनुउत्तरित प्रश्नहरुको उत्तर दिन सक्नुहुन्छ भने म स्वय स्वस्थानीको कठोर वर्त गर्न तयार छु । आउनुहोस, लैङ्गिक विभेदकारी, पुरुषवादी, अबैज्ञानीक मिथ्याको चिरफार गरौ।
(लेखक नेपाल बुद्धिजीवी सङगठनको केन्द्रिय सदस्य हुनुहुन्छ । यो उहाको पुर्वप्रकाशित लेखको संम्पादित संस्करण हो।)
वि.सं.२०८१ माघ ५ शनिवार ०८:३० मा प्रकाशित


























