काठमाडौँ । नेपाली कथानक चलचित्र ‘जुना एक व्यथा’ देशैभरका सिनेमा घरमा प्रदर्शनमा आएसँगै समाज परिवर्तनको सङ्केत देखा पर्न थालेको छ । गएको माघ २५ गतेदेखि प्रदर्शन भएको चलचित्रले महिलामाथि हुने भेदभाव अन्यका लागि एकजुट हुन प्रेरित गरेको गरेको दर्शकहरूले बताउने गरेका छन् ।
चलचित्रको परिवेश पहाडिया दुर्गम भेगको हो । यो चलचित्रमा पिछडिएका वर्ग समुदायको कथा समेटिएको छ । चलचित्रमा प्रमुख पात्रका रूपमा जुनालाई उभ्याइएको छ । उनको चरित्र र जीवन भोगाइलाई चलचित्रमा मुख्य कथावस्तु बनाइएको छ । सामाजिक परम्परा अनुसार किशोर अवस्थामै विवाह बन्धनमा बाँधिएकी जुनाले भोगेको सङ्घर्षको कथाले सर्वसाधारणलाई सामाजिक न्यायप्रति प्रतिबद्ध रहन प्रेरित गर्ने चलचित्र हेरेका मानवअधिकारकर्मीको भनाइ छ ।
चलचित्र औपचारिक रूपमा प्रदर्शन गर्नुअघि देशका विभिन्न नगरपालिकाका हल र विद्यालयमा च्यारिटी सो आयोजना गरिएको थियो । च्यारिटी सोमा पनि धेरैका आँखा रसाए भने धेरैले लैङ्गिक भेदभाव अन्त्यका लागि चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
दलित मुक्ति मोर्चाका उपाध्यक्ष पदम विश्वकर्माले महिला हिंसा र बाल विवाहले पारको प्रभावमा चलचित्रको समग्र कथावस्तु केन्द्रित रहेकाले न्यायपूर्ण समाज निर्माणको पक्षमा एकीकृत हुन सहयोग पुग्ने बताए । उनले पुराना सामन्तवादको चरित्र र उत्पीडनमा रहेका महिलाको चरितार्थलाई चलचित्रले निक्कै कलात्मक ढङ्गबाट उजागर गरेको बताए ।
चलचित्रमा प्रयुक्त एक वाक्यासं ‘छोरी मान्छेको जन्म, फुटेको कर्म’ यसलाई उखेल्न आम न्याय प्रेमी जनसमुदायहरू कम्मर कसेर लाग्नुपर्ने बताए । ‘पुरानो समाज र आधुनिक भनिएको समाजलाई तुलना गर्दा महिलामाथि अझै पनि हिंसा भएको देखिन्छ’, विश्वकर्माले भने, ‘यो चलचित्र मानव अधिकारकर्मी, महिला आन्दोलनमा लागेकाहरू, न्यायिक निकाय र राज्य सक्तामा रहेका व्यक्तिसहित आम नागरिकले अनिवार्य हेर्नुपर्ने देख्छु । जुना फिल्मले महिला हिंसा र बाल विवाहको असरलाई अझ प्रस्टाउन खोजेकाले पनि यो फिल्म हुेर्नु अनिवार्य छ ।’
उनले महिलाको आत्मसम्मान र गौरव, सामाजिक न्यायका लागि राज्यले ध्यान दिनुपर्ने बताए । विश्वकर्माले समकालीन चलचित्रमध्ये जुना उत्कृष्ट कथावस्तुमा निर्माण भएको ठोकुवा समेत गरे ।
यो चलचित्रको निर्देशन गरेका जीवन सेन्चुरीले नेपाली समाजबाट जात, लिङ्ग र वर्गका आधारमा हुने भेदभाव अन्त्यका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले ‘जुना एक व्यथा’ निर्माण गरेको बताए । उनले सामाजिक अपराधका रूपमा रहेको बालविवाह अन्त्य गर्न र लिङ्गका आधारमा हुने भेदभाव अन्त्य गर्न चलचित्रले भूमिका खेल्ने विश्वास व्यक्त गरे । निर्देशन सेन्चुरीलेचलचित्रमा मनोरञ्जन र सामाजिक चेतना भएकाले नजिकको सिनेमा घरमा गएर चलचित्र हेर्न आग्रह गरे ।
गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्चको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता दीपकप्रसाद घिमिरे हुन् । फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेत, कमल बोहोरा, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेका छन् । फिल्मका प्रमुख पात्र अर्थात् अस्मिता ढकालका पति बिर्खलालको भूमिकामा देखिएका छन् ।
वि.सं.२०८१ माघ ३० बुधवार १७:४१ मा प्रकाशित































