back
CTIZAN AD

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

वि.सं.२०८१ फागुन ११ आइतवार

933 

shares

लिस्बन (पोर्चुगल) । यरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु भएको हो ।

दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो ।

शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ ।

यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूतावासले जनाएको छ ।

कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज बनाउने उद्देश्यले हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको पोर्चुगलका लागि कार्यवाहक राजदूत रामबाबु नेपालले राससलाई जानकारी दिए । लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उनले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलवासी नेपालीलाई आग्रह गरे ।

“हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ”, नेपालले भने, “दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।”

पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिए । उनका अनुसार कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्रसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ ।

दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगायत कर्मचारी खटिनुभएको छ । दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।

लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज भएको बताएका छन् ।

दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ ।

यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल पोर्चुगल आउन नपाएपछि फिर्ता बोलाइएको थियो ।

नेपाललाई फिर्ता बोलाएसँगै दूतावास स्थापनाको विषय केही समय अन्योल बनेको थियो । हाल उहाँ स्पेनका लागि राजदूत नियुक्त भई जिम्मेवारीसमेत सम्हाली सक्नुुभएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको थियो ।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली सङ्घ पोर्चुगललगायत यहाँ रहेका नेपाली सङ्घसंस्था, सामाजिक अभियन्तालगायत पोर्चुगलवासी नेपालीले लामो समयदेखि सङ्र्घष गर्नुका साथै विभिन्न दबाबमूलक कार्यक्रमसमेत हुँदै आएको थियो ।

वि.सं.२०८१ फागुन ११ आइतवार १२:५४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...