back
CTIZAN AD

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन : मन्त्री पौडेल

वि.सं.२०८१ फागुन १८ आइतवार

729 

shares

मङ्गलबारे (इलाम) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् ।

उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो”, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।

बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे ।

सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।

अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ । आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने बताए ।

तीनै तहका सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले फरक–फरक नीति बनाएर काम हुन नसक्ने भन्दै उनले एउटै नीति अवलम्बन गरिनुपर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलाम अस्पतालको क्षमता विकास गर्दै सय शय्याको बनाउनुपर्ने बताए । उनले भौतिक पूर्वाधार तथा औजार र चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव राखे । सो विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले एकसाथ पहल गर्नुपर्ने बताए ।

इलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापनपत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारीसहित थप गर्नुपर्ने विषयमा माग गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।

वि.सं.२०८१ फागुन १८ आइतवार ११:३२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...