back
CTIZAN AD

‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’

वि.सं.२०८२ वैशाख १२ शुक्रवार

570 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा सांसद गोकर्णराज विष्टले नागरिकका विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्नेगरी संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा उनले संसद्को गरिमा कायम राख्दै राजनीतिक दल तथा सरकारले नागरिकको असन्तुष्टि चिर्नेगरी काम गर्नसक्नुपर्नेमा जोड दिए ।

संसद्लाई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलोका रूपमा चित्रण गर्दै विष्टले संसद्को सञ्चालन संयमित, शिष्ट र अनुशासित ढङ्गले हुनुपर्ने बताए । “यदि संसद्ले नागरिकमा आशा जगाउने गरी काम गर्न सक्यो भने त्यो नै लोकतन्त्रको मूल्य र विश्वासप्रतिको सम्मान हुनेछ”, उनले भने,“संसद्मा विगतका अधिवेशनहरूबाट पाठ सिक्दै चालु अधिवेशनलाई परिणाममुखी बनाउनुपर्छ ।”

संसद् सञ्चालनमा विगतमा देखिने गरेको अवरोध र खिचातानीका कारण पनि नागरिकमा निराशा बढाइरहेको सन्दर्भमा सांसद विष्टले जनहितका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे । नागरिकमा देखिएको असन्तुष्टिलाई देखाएर अराजकता र अस्थिरता चाहने शक्तिहरू सक्रिय रहेकाले गणतन्त्र स्थापनापछि जनताले विकास र समावेशीताको प्रत्याभूति खोजिरहेको उनकोे धारणा थियो ।
नेपालको न्यून आर्थिक वृद्धि, कमजोर उत्पादकत्व, उच्च व्यापार घाटा, वैदेशिक रोजगारीको बढ्दो निर्भरता, शिक्षा प्रणालीको व्यावहारिक असान्दर्भिकता र स्वास्थ्य सुविधाको पहुँच अभावजस्ता मुद्दाहरूबारे सांसद् विष्टले संसद्को ध्यानाकर्षण गराए । अर्थतन्त्र र विकासमा देखिएका समस्या समाधान गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आउनुपर्ने उनकोे सुझाव छ । “देशको उत्पादनसँग शिक्षा प्रणाली जोडिएको छैन । खाद्य सुरक्षामा समेत हामी आत्मनिर्भर छैनौँ । यस्तो अवस्थामा आयातमुखी उपभोग प्रवृत्तिले देशको अर्थतन्त्र झनै कमजोर बनाएको छ”, विष्टले भने ।

न्यून पुँजीगत खर्च र चालु खर्च बढ्ने प्रवृत्तिले आर्थिक रूपान्तरणमा चुनौती थपिएको उल्लेख गर्दै उहाँले यी प्रवृत्तिका कारण तीव्र विकास र समृद्धिप्रति जनताले राखेका आकाङ्क्षाहरू पूरा गर्न नसकिएको तर्क गरे । यस्तै, तीन तहका सरकारबीच समन्वयको अभाव, सहकारी क्षेत्रको विकृति र न्याय प्रणालीको ढिलासुस्ती जस्ता कमजोरीबारे पनि उनले धारणा राखे ।

संसद्को चालु बजेट अधिवेशन समस्या समाधानतर्फ केन्द्रित हुन सक्यो भने मात्रै संसद्प्रति जनताको विश्वास पुनःस्थापित हुने विष्टको बुझाइ छ । उनले संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले संविधान प्रतिकूल गतिविधि गर्न नहुने चेतावनी पनि दिए । लोकतन्त्रमा बहस र विमति स्वाभाविक हुने तर त्यसलाई संसदीय अभ्यासभित्रै समेटेर समाधान खोज्नु आजको आवश्यकता भएको विष्टको भनाइ छ ।

संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्ने र लोकतन्त्रलाई थप परिस्कृत गरिनुपर्ने उल्लेख गर्दै उनले पछिल्लो समय लोकप्रियतावाद र अराजकतावाद हाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे । “जे पनि बोल्ने तर त्यसको जिम्मेवारी लिन नपर्ने स्थिति विभिन्न देशमा देखिएका छन् । नेपालको सन्दर्भमा पनि जे पनि बोल्ने, व्यवहारमा नउतार्ने प्रवृत्ति देखिएको छ”, विष्टले भने, “यो लोकप्रियतावादले नागरिकका आकाङ्क्षा पूरा गर्न सकेको छैन ।” अहिलेको सत्ता गठबन्धनको आयुबारे देखिएका अन्यौलताबारे उनले सरकारको आयु कति दिन रहन्छ भन्नेभन्दा पनि जनता र देशको हितमा कति काम गर्छ भन्ने महत्वपूर्ण भएको उल्लेख गरे ।

 

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...