back
CTIZAN AD

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

वि.सं.२०८२ जेठ ९ शुक्रवार

696 

shares

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिँह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिए । बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उनले बताए ।

जडीबुटी सङ्कलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

अपी हिमाल गाउँपालिका–२ का स्थानीय गगनसिँह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउँछन् । उनी भन्छन्, “वर्षभरिको कमाई यही यार्सागुम्बा हो । बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु !” अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् । यहाँ वर्षौदेखि यसरी नै यार्सागुम्बा खोज्ने गरिन्छ । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ ।

गाउँपालिका–३ का कमलसिँह धामी पनि वर्षभरिका अत्यावश्यक आवश्यकता पूर्तिका लागि यार्साको जोहो गर्नुपरिरहेको बताउँछन् । “अधिकांश ठाउँ भिरालो पाखो जमिन हो । दुई महिना यार्सागुम्बा सङ्कलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ । हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्”, उनले भने,“यार्सा खोज्न निकै कष्टकर भए पनि जीविका चलाउनका लागि यसैको भर पर्नुपर्छ ।”

यार्सागुम्बा सङ्कलनकै लागि काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुग्ने गरेको छन् । काठमाडौँमा अध्ययन गर्दै आएका जय धामीले भने, “यार्सागुम्बा सङ्कलनका लागि वैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो । एक महिना यहाँ बस्छु, अनि काठमाडौँ फकिने !” उनी दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउँछन् । “यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैँ धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ । यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ, राम्रै आम्दानी हुने अपेक्षा छ”, धामीको भनाइ छ ।

यहाँका स्थानीय वैशाख अन्तिमसाता नै यार्सागुम्बा सङ्कलनका लागि पाटन गइसकेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ । दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययरत नौगाड गाउँपालिकाका खडकसिँह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपी पुगिसकेका छन् ।

“एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु,” उनले भने, “हाल पढाइ मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनु प¥यो । वर्षमा दुई बाली मात्र हुने अपी हिमालका खेतबाट उत्पादित अन्नले वर्षभरि पुग्दैन । घरमा जागिर नहुनेका लागि यही विकल्प छ ।”

आम्दानी मात्रै होइन यहाँ जोखिम पनि उत्तिकै हुन्छ । पटकपटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा सङ्कलन गर्नु परेको सङ्कलक मानसिँह धामी बताउँछन् । उनका अुनसार घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेर पाटन जान्छन् । १२ देखि ५० वर्षसम्मका सबै मानिसहरू पाटनमा जाने गरेका छन् । यार्सा सिजन सुरु भएसँगै जिल्लाको मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा पनि लेक उक्लिएपछि यहाँका कतिपय घरमा ताला लागेका छन् ।

जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेलालगायत क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन् । यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्सागुम्बा सङ्कलन हुने गर्छ ।

जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर सङ्कलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन् । कार्यालयले जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी गरिरहेको कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताए ।

सबैले अनिवार्य रूपमा परिचयपत्र लिएर मात्रै सङ्कलन गर्नुपर्ने कानुनी प्रावधान छ तर त्यसको पूर्ण पालना भएको देखिँदैन । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्याले बताउने गरेको छ । रासस

 

वि.सं.२०८२ जेठ ९ शुक्रवार १६:५६ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...