back
CTIZAN AD

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण

वि.सं.२०८२ साउन ८ बिहीवार

699 

shares

दार्चुला । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् ।

महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् ।

गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउँछन् । “यो बाटोले दुई वडामात्र होइन्, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेवापत मजदुरले दैनिक एक हजारदेखि एक हजार ५०० ज्याला लिए”, उनले भने ।

व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन । बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोरेटो बाटो खोलेको थियो । त्यो बाटो एक वर्ष पनि टिकेन ।

सबैभन्दा कठिन भूगाले रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाको साथ थियो । उनले भने, “ज्यानको मायाभन्दा मातृभूमि र राष्ट्रको माया बढी भएरै बाटो बनाएका छौं, सबैले सहयोग नगरेको भए यस वर्ष पनि बाटो बन्न सम्भव थिएन ।”

घोरेटो बाटोमा काम गरेका उज्जवलसिह महता बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो महशुस नभएको बताउँछन् । “एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको, थोरै गल्ती भएको भए सक्कियो, काम गर्ने बेलाको समय सम्झिँदा अहिले पनि आङ जिरिङ हुन्छ”, उनले भने ।

सडक पहुँच नभएकाले दार्चुलाको छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीन दशक भएको थियो । अहिले सबै क्षेत्रमा बाटो निर्माण भइरहेको छ । थोरै भए पनि राहत महशुस भएको बाटो निर्माणमा खटिएका डम्मरसिंह धामीको भनाइ छ ।

“परम्परागत बाटोको नाम निसाना मेटिएको थियो, पूरै कडा चट्टान डोरीमा अड्किएर काम गरियो”, धामीले भने, “यो बाटो खुलेपछि व्याँसको वडा नम्बर १ को छाङ्गरु तथा तिंकर र वडा नम्बर २ को दुम्लीङ गाउँ घोरेटो बाटोले जोडेको छ”, उनले भने ।

गाउँपालिकाले बोलपत्र आबहान गरेर बाटो बनाएको हो । बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले गरेको हो । कुल पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकामा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए । “निकै जोखिमपूर्ण क्षेत्रमा काम थियो”, निर्माण व्यवसायी पालले भने, “तै पनि मजदुरले रातदिन काम गरेर यत्ति प्रगति भयो ।”

निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ । अहिले अपि खोला लगायतका क्षेत्रमा पुल निर्माण र बाटो मर्मतको काम चलिरहेको निर्माण व्यवसायी पालले बताए । मजदुर लगाएर अहिले पनि थी भीरभन्दा माथिल्लो क्षेत्रमा काम चलिरहेको छ । व्याँसवासीलाई आफ्नै बाटो हिँडाउने गरी बाटोको काम भइरहेको उनको भनाइ छ ।

गाउँपालिकाका सबइन्जिनियर जगतसिंह डडालका अनुसार हालसम्म घोरेटो बाटो निर्माणमा चार करोड १३ लाख ३३ हजार २०१ खर्च भइसकेको छ । निर्माण कम्पनीले व्याँसको वडा नम्बर २ र १ मा पर्ने तम्बाकु, माल्पा, घाटीबगड, बयाली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ ।

त्यसअनुसार घोरेटो बाटोमा ६५० घनमिटर मेसनरी वाल, ५७७ घनमिटर ड्राइ वाल, ७२ घनमिटर स्टोन वाल, ५०० घनमिटर पलम कङ्कृट र २० घनमिटर (८५ मिटर) आरसिसि ढलान गरिएको छ । दोपाखे, अपिखोला र कुन्तीसाउमा छ मिटर लम्बाइ स्पानका तीन वटा आरसीसी पुल निर्माण गरिएको डडालले बताए ।रासस

वि.सं.२०८२ साउन ८ बिहीवार १४:३५ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...