back
CTIZAN AD

सन्दर्भ स्तनपान महिना : कार्यस्थलमा छैन स्तनपान कक्ष

वि.सं.२०८२ साउन २१ बुधवार

3.1K 

shares

चितवन । सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ ।

तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस् वा पेसा व्यवसायमा लाग्नेहरुले चाहेर पनि आफ्ना सन्तानलाई आवश्यक मात्रामा स्तनपान गराउन पाएका हुँदैनन् । काम गर्ने थलोमा स्तनपान गर्नका लागि ठाउँको अभाव हुने गर्दछ ।

इलाम घर भएर व्यावसायिक कीट विकास केन्द्र भण्डारामा कार्यरत सुरुचि त्रिपाठीको शिशु अहिले एक वर्ष छ महिना पूरा भएको छ । उनी कृषि विकास कार्यालय चितवनमा कार्यालयमा हुँदा नवजात शिशुलाई जन्म दिइन् । शिशु जन्मिएपछि तीन महिना नियमित आमाको दूध खुवाएको भए पनि पछि कार्यालयको कामको चापले गर्दा नियमित स्तनपान गराउन पाइनन् । उनले भनिन्, “घर र कार्यालय दुवैमा सहयोग गर्ने व्यक्ति भयो भने सहज हुने रहेछ ।”

कार्यालयमा कार्यालय प्रमुख कस्तो छ भन्नेमा भर पर्नुपर्ने हुँदा समस्या हुने उनको भनाइ छ । टाढा घर हुनेलाई बच्चाको हेरचाहादेखि नियमित स्तनपानको समस्या हुने गरेको उनले बताइन् । बच्चा आमाको दूधमा निर्भर हुने समयमा बच्चालाई छाडेर जाँदा उसको शारीरिक वृद्धिमा समेत समस्या हुने गरेको उनले बताइन् ।

बच्चाको सुनौलो एक हजार दिन भन्ने गरिए पनि सरकारी तथा निजी क्षेत्रमा कार्यरत आमाहरुलाई स्तनपान गराउन समय नमिल्ने उनले बताइन् ।

पत्रकार प्रतिमा सिलवाल आफूले छोरालाई चार महिनामात्रै नियमित स्तनपान गराउन पाएको बताउँछिन् । काठमाडौँमा बसेर काम गर्दैगर्दा कार्यालय टाढा भएकाले दिउँसोको समयमा स्तनपान गराउन नपाएको गुनासो उनको छ । उनले भनिन्, “एकातर्फ मलाई गाह्रो हुन्थ्यो, अर्काेतर्फ बाबुलाई ल्याक्टोजिन खुवाउनु पथ्र्याे ।” आफूलाई जस्तै धेरै आमाहरुले यो समस्या भोगिरहेको सिलवाल बताउँछिन् ।

भरतपुर महानगरपालिका–९ शरदपुर निवासी स्वस्तिका चौहानको पनि समस्या उस्तै छ । शिशु जन्मिएको तीन महिनादेखि कार्यालयको काममा आउनुभएकी उनको बच्चा अहिले एक वर्ष छ महिनाको छ । नजिकै घर भएकाले त्यस्तो ठूलो समस्या नभए पनि महिला कर्मचारीलाई बच्चा जन्मिएपछि समस्या हुने गरेको उनले बताइन् ।

सरकारी कर्मचारी उहाँ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमा काममा हुँदा बच्चालाई आवश्यकताअनुसार स्तनपान गराउन कठिन हुने बताउँछिन् । हरेक दुई÷दुई घण्टामा बच्चालाई स्तनपान गराउन जान समेत सम्भव नहुने हुँदा समस्या पर्ने गरेको उनको भनाइ छ ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा स्वेच्छा अधिकारी स्तनपान बच्चाको पहिलो र सबैभन्दा महत्वपूर्ण आहार भएको बताउछिन् । उनले भनिन्, “यो केवल खाना मात्र होइन, रोगसँग लड्ने शक्ति दिने प्राकृतिक औषधि पनि हो ।”

स्तनपान बच्चा र आमा दुवैका लागि अमूल्य उपहार भएको बताउँदै डा अधिकारीले भनिन्, “आमाको दूध सिधै स्तनबाट बच्चालाई दिइन्छ । यसमा कुनै तयारी गर्नु पर्दैन, तापक्रम पनि बच्चाका लागि उपयुक्त हुन्छ र यो पूर्ण रूपमा सङ्क्रमणमुक्त हुन्छ ।”

आमाको दूधमा बच्चाको रोगसँग लड्ने क्षमतालाई बढाउने तत्वहरू हुने जनाउँदै उनले स्तनपान गराइएका शिशुहरूको मस्तिष्क विकास अन्यको तुलनामा बढी राम्रो हुने जानकारी दिइन् । उनले भनिन्, “आमाको दूधमा यस्तो तत्व हुन्छ जुन न्यूरोलोजिकल विकासमा सहयोग गर्छ, जुन गाई वा अन्य दूधमा हुँदैन ।”

बच्चालाई आमासँग नजिक हुनु, सुरक्षित महसुस हुनु र मायाको अनुभूति हुनु यहीँबाट सुरु हुने उनको भनाइ छ । डा अधिकारीले भन्नुभयो, “पूर्ण रुपमा स्तनपान गरेको बच्चामा एलर्जी, दम, पेटको सङ्क्रमण, मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुको रोगहरू कम हुने सम्भावना हुन्छ ।”

बच्चालाई मात्रै नभएर स्तनपानले आमालाई पनि फाइदा हुने उनको भनाइ छ । डा अधिकारीका अनुसार बच्चा जन्मेपछि जब आमाले स्तनपान सुरु गर्छिन्, तब पेटभित्रको बच्चा बस्ने अङ्ग (गर्भाशय) खुम्चिन थाल्छ । यसले गर्दा धेरै रगत बग्ने सम्भावना घट्छ र आमाको शरीर चाँडै ठीक हुन मद्दत हुन्छ ।

स्तनपान प्राकृतिक गर्भनिरोधक हुने बताउँदै डा अधिकारीले क्यान्सरको जोखिम घटाउने बताइन् । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमप्रसाद पौडेलले स्तनपानका फाइदा बुझाउन आवश्यक रहेको बताए । नवजात शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनुपर्ने उनले बताए । शिशुहरुको राम्रो बृद्धिविकासका लागि महत्वपूर्ण आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यालयमा अनिवार्य रुपमा स्तनपान कक्ष हुनुपर्ने, स्तनपान गराउने आमाहरुलाई अतिरिक्त समय व्यवस्थापन गरिदिनुपर्ने, आम नागरिकले आफ्नो ठाउँबाट स्तनपान गराउनका लागि सहयोग गरिदिनुपर्ने उनको सुझाव छ ।

वि.सं.२०८२ साउन २१ बुधवार १२:५२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...