back
CTIZAN AD

मृतकको परिवार भन्छन् : देशले परिवर्तन पाए सहिदको बलिदानले न्याय पाउनेछ

वि.सं.२०८२ असोज ३ शुक्रवार

735 

shares

भक्तपुर । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् ।

छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार भन्छन्, “उनीहरुको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ ।” चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी २१ वर्षीय अभिषेक चौलागाईंको २४ गते आन्दोलनकै क्रममा संसद् भवन परिसरमा गोली लागेर मृत्यु भएको थियो ।

दोलखा जिल्ला सैलुङ गाउँपालिका स्थायी घर भई भक्तपुर–दुवाकोटमा सानो घर बनाएर बस्दै आएका अभिषेकका पिता भने नेपाल प्रहरीमा कार्यरत छन् । गत भदौ २३ र २४ गते अभिषेकका बुबा दिनेश भने भक्तपुरस्थित सल्लाघारीमा प्रहरीको ‘ड्यिुटी’मै थिए ।

गत भदौ २४ गते सादा पोसाकमा ‘ड्यिुटी’मा खटिएका दिनेशले छोरालाई आन्दोलनमा नजान भनेका थिए । उनी भन्छन् , “११ः१५ बजेसम्म म घरमै छु भन्थ्यो, अघिल्लो दिन आन्दोलनमा गए पनि २४ गते नजान भनेको थिएँ, देश भ्रष्टाचारले डुब्यो, परिवर्तन गर्नु छ भन्थ्यो, कतिखेर बानेश्वर पुगेछ, संसद् भवनमै छातीमा गोली लागेर करिब बेलुका ६ः३० बजेति मृत्यु भइसकेछ ।”

“रातभरि छोरा घरमा आएन, फोन लाग्दैन । आमाबुबालाई निकै सास्ती भयो । भदौ २५ गते अपराह्न अस्पतालमा शव भएको खबर आउँदा परिवारमा कसैको होस रहेन । बूढेसकालको एक मात्र साहारा, परिवारको आडभरोसा । २१ वर्षको एक मात्र छोरा गुमाउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ”, उनी भन्छन् ।

त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेका अभिषेकले परिवारको मञ्जुरीबिना नै आन्दोलनमा सहभागी हुँदा फोनमा भनेको कुरा भक्कानिँदै आमा रीता भन्छिन्, “देशका लागि केही गर्नेबेला आएको छ, देश परिवर्तनका लागि मर्नु परे पनि मर्छु, म आन्दोलनमा छुँ, चिन्ता नलिनु, आमा । अरू बेलामा पनि म विदेश जान्न, देशमै केही गर्छु भन्थ्यो, देशकै लागि जन्मेको रैछ, देशकै लागि गयो ।”

कक्षा १० पढ्दै गरेकी १५ वर्षीय एलिशालाई पनि दाजु गुमाउँदाको पीडाले छाडेको छैन । प्रहरीमा कार्यरत दिनेश भन्छन् , “ऊ देशका लागि सहिद भयो, देश परिवर्तन भएको हेर्न चाहन्थ्यो, भ्रष्टाचार निर्मूल भएको हेर्न चाहन्थ्यो, यति भए उनीहरुले न्याय पाउँथे ।” भतिजको किरिया कर्ममा रहेका केशर भ्रष्टाचारमुक्त देश तथा कार्यकारी प्रधानमन्त्रीको सपना उनीहरू भएकाले त्यसैअनुसार हुनपर्ने बताउँछन् ।

त्यस्तै दोलखाको बिगु गाउँपालिका–३ स्थायी घर भई दुवाकोटस्थित किरिया घरमा छोराको शोकमा रहेका केशव बुढाथोकी दम्पतीको पीडा पनि उस्तै छ । भदौ २४ गतेको आन्दोलनका क्रममा कोटेश्वरमा गोली लागेर सहिद भएका २२ वर्षीय महेश बुढाथोकीका बुबा केशव र आमा दिलकुमारीको साहारा खोसिएको छ । एक वर्षअघि देखि क्यान्सर रोगले थलिएकी आमाको स्याहारसुसार, औषधि र अस्पतालको व्यवस्थापन गर्दै आएको छोरा सधैँका लागि अस्ताएपछि परिवार बेसहारा बनेका छ ।

ग्यास कम्पनीमा मजदुरी गर्दै आएका केशव भन्नुहुन्छ, “म सुकेधाराको ग्यास कम्पनीमा काम गर्छु, क्यान्सर रोगी आमाको सबै अभिभारा बोकेको थियो, वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारी पनि गर्दै थियो, म्यानपावरलाई रु ५० हजार बुझाइसकेको थियो, गरिब परिवारको सबै सपना थाती राखेर सधैँका लागि अस्तायो ।” युवापुस्ताले खोजेजस्तो देशले परिवर्तन पाए सहिदको बलिदानले न्याय पाउने बताउँछन् , भतिजको किरिया कर्ममा बसेका महेशका माइलाबुवा यज्ञबहादुर बुढाथोकी पनि ।

चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका अर्का युवा रोशन (योगेन्द्र) न्यौपाने पनि यही आन्दोलनमा आस्ताए । चाँगुनारायण माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनरत न्यौपानेको परिवार भने किरियाका लागि दुवाकोटको घरबाट पैतृक थलो सिन्धुली पुगेको छ । सहिद न्यौपानेको परिवार तथा आफन्तीजनका तर्फबाट पनि देश परिवर्तनका लागि भएको जेन्जी प्रदर्शनका क्रममा शहादत प्राप्त गर्ने सहिदका सपना साकार पार्न सरकारका साथ सम्बद्ध सबैसँग माग गरिएको छ ।

वि.सं.२०८२ असोज ३ शुक्रवार १३:२० मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...