
बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ
धनमान गजक्क छ। उ आफैमा सम्पन्न छु सोच्छ । कसैको कुरा उ मान्दैन र सुन्दैन पनि, जे इच्छा हुन्छ उ त्यही गर्छ । उ आफैलाई गायक र लेखक भन्छ । तर कसैलाई उसले मार्गदर्शन गराउँदैन । हो, उ लेख्छ र गाउछ पनि । उभित्र कला र गला भने छ । तर उ कुँवाको भ्यागुता नै छ । जमाना कहाँदेखि कहाँ पुगिसक्यो तर उ पूर्वाग्रहमा बाँच्छ। अचम्मको छ उसको व्यवहार ।
जहाँ उसको कदर छैन, त्यहाँ उ लागि पर्छ। तर जहाँ उसलाई मान सम्मान गरिन्छ त्यहाँ उ जाँदैन । बरू तिनीहरूको कमी कमजोरी केलाउँछ । बेला बखत देखा परेता पनि साथ भने कहिल्यै मनबाट दिँदैन । आफ्नो गाउँ ठाउँको भलो उ चाहँदैन। बहिरकै भलो सोच्नु बढ़ीबढ़ाइ गर्नमा उसलाई फुर्सद नै हुँदैन । नभन्दै त्यतैतिर धाउँछ जहाँ उसलाई सधैँ पछि पार्दछन् । उसको योग्यतालाई दबाउछन् । यसैले ‘किन चाउरी परिस् मरिच आफ्नै चालले’, भन्ने उखान उमाथि सतप्रतिशत मेल खान्छ । तथापि उ आफैभित्र मग्न छ ।
घरछेऊको लुते भने सधैँ उसलाई सम्झाउँछ । साथ माग्छ नजाऊ दाइ अन्त हामी मिलेर आफ्नै गाउँ बनाऔँ । तर धनमानको हृदय कहिल्यै पग्लिदैन । लुतेको अनुरोध उसलाई व्यर्थको लाग्छ । किनकि उ कसैलाई अघि बढेको हेर्न चाहँदैन। उ स्वार्थी र अहङ्कारी छ ।
एकदिन लुतेले गाउँमा सानोतिनो साङगितिक कार्यक्रम राख्यो। गाउँका नव प्रतिभाहरूले मौका पाए गाउँलेबाट शुभकामना र साथ पायो ।
टाढाबाट पहुनाहरू आए । लुतेको सराहना गरे । धनमान भने कार्यक्रममा देखिएन । उ अर्कै कार्यक्रममा गयो। केवल मुकदर्शक बनेर फर्कियो । भोलिपल्ट धेरैले उसलाई कार्यक्रममा किन नआएको ? आफ्नो प्रस्तुति नदिएको ?, भनेर सोधे । आफ्नो अहङ्कारमा डुबेको धनमानले छोटो उत्तर दियो, ‘ मलाई आफ्नो ठाउ साँघुरो लाग्छ ।’
गाउँको मायाले ओतप्रोत लुते आजभोलि समाजसेवामा लागिरहेको छ । गाउँलेहरू उसैको प्रशंसा गर्छन् ।
वि.सं.२०८२ असोज ११ शनिवार १०:२९ मा प्रकाशित