देवचुली– प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २८ औँ वार्षिक साधारणसभा देवचुली नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षतामा बसेको साधारणसभामा देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि न्यौपानेले खानेपानी संस्थाले आगामी दिनमा सामना गर्नुपर्ने सम्भावना र चुनौतीको विश्लेषण गर्दै प्रभावकारी योजना बनाउन साधारणसभाले महत्वपूर्ण भूमिका खेल्ने बताए। नगरपालिका संस्थालाई आवश्यक सहयोग गर्न सधैं तयार रहेको उनले स्पष्ट पारे।
सभामा अध्यक्ष कडरियाले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ का योजनाहरु तथा संस्थाका नीतिहरू प्रस्तुत गरे। उनले मुहान तटबन्ध तथा फिल्टर प्लान्टको बृहत् डिपिआर तयार गर्ने, ओभरहेड ट्याङ्कीमा प्रेसर फिल्टर जडान गर्ने, मृतक राहत कोष स्थापना, पानी स्रोत व्यवस्थापन, रिजर्भ ट्याङ्की मर्मत, ओभरहेड ट्याङ्की रङरोगन, पिच सडकमा रहेका पुराना पाइप विस्थापन गरी दोहोरो पाइप विस्तार गर्नेलगायत २८ वटा कार्ययोजना प्रस्तुत गरेका थिए।
कोषाध्यक्ष विमला अधिकारीले आर्थिक प्रतिवेदन पेश गरे भने आन्तरिक लेखा समितिका संयोजक जीवन श्रेष्ठले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरे। सुरक्षा योजना उपसमितिका सचिव रविचन्द्र गिरीले खानेपानी सुरक्षा प्रतिवेदन पेस गरेका थिए।
उपभोक्तातर्फबाट राधा न्यौपाने र डिलबहादुर खत्री, कावासोती खानेपानी संस्थाका अध्यक्ष दिपकराज लम्साल, राप्रपा नेपालका प्रतिनिधि यमप्रसाद भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीका सभापति शेरबहादुर केसी, नेकपा एमाले देवचुलीका सचिव कमल वाग्ले, नेपाली कांग्रेस देवचुलीका उपसभापति भोजेन्द्र रायमाझी, वडा नं. १३ का वडाध्यक्ष एकदेव पौडेल, संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल र देवचुली–११ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्ता तिलप्रसाद काफ्लेले संस्थाको प्रगतिमा शुभकामना व्यक्त गरे।
कार्यक्रममा निर्वाचन समिति, पूर्व कार्य समिति, लेखा समिति, सल्लाहकार समिति तथा पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो। त्यस्तै दलदले बजार र प्रगतिनगर बजारमा स्मार्ट वाटर फिल्टर जडानमा सहयोग गर्ने गरिमा विकास बैंक दलदले शाखा र सिटिजन्स बैंक धारापानी शाखालाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो। स्वागत उपाध्यक्ष कृष्णबहादुर थापाले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव विष्णुप्रसाद न्यौपानेले गरेका थिए।
वि.सं.२०८२ मंसिर ७ आइतवार ११:१६ मा प्रकाशित






























