back
CTIZAN AD

जेन्जी आन्दोलनका सहिदः अधुरो सपना छोडेर सधैँका लागि बिदा हुनुभयो विनोद

वि.सं.२०८२ माघ ५ सोमवार

486 

shares

पाटन (ललितपुर) । “भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?” जेनजी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग भनेका शब्द हुन् यी । “म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,” भनेर अघि बढेका विनोद भदौ २३ गते नयाँवानेश्वरस्थित संसद् भवन अगाडि कहिल्यै नउठ्ने गरी सधैँका लागि ढले अधुरो सपना छोडेर बिदा भए ।

बाक्लो दाह्रीजुँगा पालेका, लामो कपाल भएका निडर स्वभावका विनोद सानैदेखि अन्याय सहन नसक्ने व्यक्तित्व, छलछाम गर्न नजान्ने, कसैको आलोचना गर्नुपरे लुकीछिपी होइन सिधै गर्ने उनको हक्की स्वभाव थियो ।

स्वर्गीय पिता बाबुकाजी महर्जन र आमा लतमाया महर्जनका कान्छो सन्तान जेनजी सुशासन सहिद विनोदमा मुलुकको व्यवस्था परिवर्तनका लागि युवाहरूले सशक्त आन्दोलन गर्नैपर्छ भन्ने विचारधारा थियो । बाहिरी हुलियाले अनौठो ठान्नेहरू पनि उनकोे भनाइ र विचारहहरु सुनेपछि प्रभावित हुन्थे । यही स्वभावले उहाँले समाजमा बेग्लै पहिचान बनाउँदै आएका थिए ।

आफ्नो कान्छो छोरा सहिद विनोद महर्जनलाई सम्झँदै त्यस दिनको कुराकानीका बारेमा आमा लतमाया महर्जन नेवारी भाषामै भन्छन्, “जिं जा नयेत धया, वं धाल, “आः जिं नये मखु, पासाः वल, जि छुं ई पिहां वनाः लिहां वयेबलय् नये । अर्थात् “मैले भात खाउ भनेँ, उसले भन्यो, अहिले म खाँदिनँ, साथी आइसक्यो, एकछिन बाहिर गएर आएपछि खान्छु ।”

खाना नखाई निस्किएको विनोद आन्दोलनमा गएर गोली लागेर ढले, आन्दोलनका क्रममा नयाँबानेश्वर चोकमा भएको घटनामा उहाँलाई मुख र टाउकोमा दुई गोली लागेको थियोे । गोली लागेपछि विनोदलाई साथीभाइले नजिकको एभरेष्ट अस्पताल लगेका थिए, त्यहाँ पु¥याउनु अघि नै विनोदको निधन भइसकेको थियो । सानै उमेरमा बुबाको निधन भएपछि तीन दिदीबहिनी, एकदाजु र आमासँग बस्दै आउनुभएका विनोद परिवारका कान्छो सदस्य थिए ।

लामो समयसम्म देवीदवताको मूर्ति बनाउने कार्य गर्दै आएको महर्जन कोरोनापछि पेसा सङकटमा परेसँगै पछिल्लो समय ‘वाल पेन्टिङ’मा संलग्न रहेको उहाँको दिदी विना महर्जन अवाल बताउँछन् । एसएलसी परीक्षामा असफल भएपछि दैनिक अध्यास र स्वअध्ययनबाट मूर्ति बनाउने र पेन्टिङ कार्यमा उहाँ संलग्नु हुनुभयो । “देश र परिवारका लागि केही गरौँ अनि मात्र विवाह गरौँला’ भन्ने विनोदको सपना जेनजी आन्दोलनका क्रममा बानेश्वर आन्दोलनमै बिलायो”, दिदी विना भन्छिन् ।

एकान्त समयमा चित्र बनाउने अभ्यास गर्ने भएकाले अघि–पछि जस्तै भदौ २२ गते पनि विनोदले राति अबेरसम्म चित्र बनाएका थिए । राति अबेर भएकाले बिहानपछि उनी १० बजे पनि ओछ्यानबाट उठाएका थिएनन् । दिदी विनाका अनुसार अघिल्लो दिन साथीभाइबीच आन्दोलनमा सहभागी हुने कुराकानीअनुरुप बिहान १० बजेतिर साथीहरु आई विनोदलाई उठाएर लगेका रहेछन् । आन्दोलनमा निस्कन लागेका विनोदलाई आमाले खाना खान बोलाउँदा विनोदले साथी बोलाउन आएकाले एकैछिन बाहिर गएर आउँछु अनि खाउँला भन्दै मुख धोएर घरबाट निस्किनु रहेछ । त्यसपछि साथीसँग सिधै बानेश्वर पुगेका रहेछन् । उता आमा छोरो खाना खान आउँला भनेर कुरिरहेका थिएनन् ।

सुरुमा विनोदले आन्दोलनकारीलाई पानी वितरण गरेर सहयोग पु¥याइरहेको परिवारका सदस्यले घरैबाट ‘फेसबुक लाइभ’बाट हेरिहनुभएको बताउनुहुन्छ, दिदी विना । “अघिपछि जात्रापर्वमा पनि अरूलाई सहयोग गर्ने, खानेकुरा र पानी बाँड्ने कार्यमा तुरुन्त सहयोग गर्ने उनको बानी थियोे, त्यो दिन पनि भाइले पानी बाँडिरहेको हामीले फेसबुकबाट झल्याकझुलुक देखिरहेका थियौँ, त्यतिकैमा आन्दोलन चर्कंदै गएपछि आन्दोलनकारी र प्रहरीबीच भएको भिडन्तमा वानेश्वरचोक नजिक हानिएको गोली विनोदलाई लागेको रहेछ, त्यसपछि विनोदको लाइभ पनि बन्द भएको रहेछ, विनोदलाई गोली लागेको कुरा उनीसँगै गएका साथीले घरमा खबर गरे,” दिदी विना भन्छिन् ।

दाजु काजीरत्न महर्जनका अनुसार त्यो दिन टोलका केही साथी भने विनोदभन्दा पहिले नै वानेश्वर पुगेका रहेछन् । ‘किन जानुपर्ने आन्दोलन र जुलुसमा हामीलाई के नै हुन्छ र !’ भनी अघिपछि साथीभाइलाई सम्झाउने विनोदलाई त्यो दिन भने जेनजी पुस्ताले उठाएका सुशासन विरुद्धको महारोगका रुपमा रहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विषयले निकै प्रभावित तुल्याएको रहेछ । दाजु काजीरत्न भन्छन् , “त्यो दिन भने समाज परिवर्तनका लागि भएको आन्दोलनमा जानुपर्छ, हामी नगए को जान्छ भनी साथीभाइसँग कुरा राखेर गएका रहेछन् ।”

दाजु काजीरत्नका अनुसार ‘जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध पनि हो’ भन्ने थाहा पाएपछि विनोद स्वतःस्फूर्त रूपमा साथीहरूसँग आन्दोलनमा सहभागी भएका रहेछन् । कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका विनोदसँग दलका जुलुस, प्रदर्शनमा नजाने, साथीभाइलाई पनि दलगत आन्दोलनमा नलाग्न आग्रह गर्ने गर्नुहुन्थ्यो तर भ्रष्टाचारविरुद्धको आवाजमा भने मौन बस्न सकेनन ।
विनोद बहुप्रतिभाशाली हुनुहुन्थ्यो, मूर्तिकला उनकोे परिचय थियो, सुन लेपन गर्ने र मुहारमा चित्रकला भर्ने काममा उनी निपुण थिए । महादेवका भक्त विनोद बाँसुरी र धिमेबाजामा पनि दक्ष थिए । पाहुना सत्कार उहाँको अर्को गुण थियो, घरका भित्ताभरि विभिन्न मूर्ति र पेन्टिङले सजिएको विनोदको संसार आज शून्य बनेको छ ।

विनोद ढलेसँगै उहाँका ७५ वर्षीय आमाको सहारा पनि ढलेको छ । आमाको स्याहारसुसार उहाँले नै गर्नुहुन्थ्यो, सवारी चालक बुबा २०६७ सालमै बितिसकेपछि दाइसँग मिलेर घर सम्हाल्दै आएका विनोदको पुख्र्यौली पेसा खेतीकिसानी थियो ।

गोली लागेर एभरेष्ट अस्पताल पु¥याइएकामा रातभर त्यहाँ राखेपछि भोलिपल्ट महाराजगन्जस्थित शिक्षण अस्पतालको शवगृहमा राखियो । त्यसको केही दिनपछि योद्धाहरुको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरियो । विनोदका परिवारलाई राज्यबाट सहिद घोषणा भएपछि रु १५ लाख रकम उपलब्ध गराउने भने बमोजिमको सहयोग प्राप्त भएको छ । ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।

दिदी विना भन्छिन् “जेनजी आन्दोलनका सहिद परिवारलाई विभिन्न खाले सहयोग उपलब्ध गराउने भनियो, हामीले माग पनि पेस गरेका छौँ तर त्यो आजका दिनसम्म आश्वासनमा सीमित रह्यो, आजका दिनसम्म हाम्रा सम्बोधन भएको छैन ।” परिवारले जेनजी सहिदको सालिक निर्माण, परिवारलाई रोजगारी, आमाबालाई भत्ताका लागि माग गर्दै आएकी छिन् । विना भन्छिन्, “विनोदजस्तै भ्रष्टाचार अन्त्य र सुशासनका लागि फेरि पनि देशका लागि युवाले ज्यान गुमाउन नपरोस् ।”
जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले आर्थिक सहयोगबोहक रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।

सहिद विनोद महर्जनको बलिदान भ्रष्टाचारविरुद्ध उठेको निडर चेतनाको प्रतीक हो । दलगत राजनीतिभन्दा माथि उठेर सत्य र न्यायका पक्षमा उभिनुभएका विनोदले युवाहरूको विवेक र साहसलाई बन्धक बनाउनु हुँदैन भन्ने सन्देश दिएर जनाएका छन् । विनोदको बलिदानले गणतन्त्रको दियो निभ्न नदिन समाज, राज्य र नागरिक सबै जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको छ । शोकमा डुबेको परिवारको पीडामा मल्हम लगाउन राज्य संवेदनशील भएर सुशासन कायम गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवार र जवाफदेही हुनुपर्छ, विनोदजस्ता सहिदका सपना अधुरो नहोस् भन्ने सबैको चाहना रहेको छ ।

वि.सं.२०८२ माघ ५ सोमवार १२:५२ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...