back
CTIZAN AD

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

वि.सं.२०८२ माघ २६ सोमवार

651 

shares

काठमाडौँ । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्बोधन गर्ने तथा समाजमा कम प्रतिनिधित्व भएका समुदायका आवाजलाई उजागर गर्ने उद्देश्यसहित ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत नेपालका १२ वटा कला परियोजनालाई अनुदान प्रदान गरेको छ। कला, संस्कृति र लैङ्गिकताको अन्तरसम्बन्धलाई सशक्त बनाउँदै सृजनात्मक अभ्यास र जनसहभागिता बढाउने लक्ष्यसहित कुल ८४ लाख ८२ हजार ७ सय रुपैयाँ बराबरको अनुदान वितरण गरिएको हो।

यस वर्ष अनुदान प्राप्त गर्नेहरूमा आठ जना व्यक्तिगत कलाकर्मी र चार वटा संस्था रहेका छन्। छनोटमा परेका परियोजनाहरूले न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्मको सहयोग पाएका छन्। अनुदानसँगै ती कलाकर्मी तथा संस्थाले कला क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण, मेन्टरसीप, परियोजना कार्यान्वयन, दर्शक सहभागिता र सृजनात्मक विकाससम्बन्धी सत्रमा सहभागी हुने अवसरसमेत पाउनेछन्।

अनुदानको अवधि सन् २०२६ को जनवरीदेखि जुनसम्म रहनेछ। यस अवधिमा काठमाडौं, जनकपुर, दमक, सुर्खेत, पोखरा, सुदूरपश्चिमका जिल्लालगायत नेपालका विभिन्न स्थानमा तथा उत्तरी आयरल्याण्डको बेलफास्ट शहरमा समेत कार्यक्रम सञ्चालन गरिनेछ। क्वेयर समुदायलाई चित्रण गर्ने कमिक प्रदर्शनी, मिथिला कलासम्बन्धी पदयात्रा, महिला तथा क्वेयर समुदायका हास्य कलाकारको स्ट्यान्ड–अप कमेडी, नाटक, फिल्म, बाल साहित्य र समुदायमा आधारित कला प्रदर्शनीहरू यस कार्यक्रमअन्तर्गत प्रस्तुत हुनेछन्।

अनुदान घोषणा गर्दै ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक रुस्तम मोदीले कला र संस्कृतिले समाजलाई आत्मचिन्तन, संवाद र आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “इक्वेल टुगेदर कार्यक्रमले लैङ्गिक मुद्दाका जटिलतालाई कलामार्फत उजागर गर्ने अभ्यासकर्तासँग सहकार्य गर्न हामीलाई सक्षम बनाएको छ। यी परियोजनाले नेपालको विविध सामाजिक सन्दर्भमा सृजनात्मक अभ्यासले कसरी सार्थक संवाद जन्माउन सक्छ भन्ने देखाउनेछन्।”

सन् २०२५–२६ का लागि परियोजना छनोट सहभागितामूलक प्रक्रियाबाट गरिएको थियो। सन् २०२५ अगस्टमा खुला आह्वान गरिँदा देशभरबाट १८० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये ५३ आवेदकलाई सर्टलिस्ट गरी सेप्टेम्बरमा काठमाडौंमा आयोजित दुई दिने सेमिनरमा सहभागी गराइएको थियो। सेमिनरपछि पेस भएका प्रस्तावहरूमध्ये १२ वटा परियोजना अनुदान र प्रशिक्षणका लागि छनोट भएका हुन्।

छनोट भएका परियोजनाहरूले पुरुषत्व, शोक र भावनात्मक उपचारदेखि आदिवासी ज्ञानको संरक्षण, दलित र महिला सशक्तीकरण, मिथिला कला, हिमाली क्षेत्रको लैङ्गिक विविधता, लोपोन्मुख लोकसंगीत, फेमिनिस्ट बाल साहित्य, समावेशी नाट्य अभ्यास, फेसन आर्ट र शहरीकरणबीच वृद्ध महिलाको योगदानजस्ता विविध विषय समेटेका छन्। यी परियोजनाले कला, लैङ्गिकता र सामाजिक न्यायका सवाललाई फरक–फरक माध्यमबाट उठान गर्ने लक्ष्य लिएका छन्।

इक्वेल टुगेदर कार्यक्रम ब्रिटिस काउन्सिलको विश्वव्यापी सांस्कृतिक रणनीतिअन्तर्गत सञ्चालन भइरहेको विशेष पहल हो। यसले समावेशीता, दीगोपन र सामाजिक तथा वातावरणीय चुनौतीलाई सांस्कृतिक माध्यमबाट सम्बोधन गर्न कलाकर्मीलाई सहयोग गर्दै आएको छ। सन् २०२३ मा सफलतापूर्वक सञ्चालन भएको जेन्डर ग्रान्ट प्रोग्रामपछि यो कार्यक्रम विस्तार गरिएको हो।

ब्रिटिस काउन्सिल संयुक्त अधिराज्यको सांस्कृतिक तथा शैक्षिक सम्बन्ध विस्तार गर्ने अन्तर्राष्ट्रिय संस्था हो, जसले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषा कार्यक्रममार्फत विश्वभर शान्ति र समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

 

वि.सं.२०८२ माघ २६ सोमवार १३:४७ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...