काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
प्राप्त प्रारम्भिक विवरण अनुसार सडकबाट करिब तीन सय मिटर तल नदीमा खसेको बसमा दुर्घटनाको समयमा करिब ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
घटनास्थलमा खटिएका प्रशासनिक अधिकारीका अनुसार यात्रुहरूको खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी छ । डुंगाको सहायताले नदीबाट उद्धार गरिएका यात्रुहरूलाई बगरमा ल्याई एम्बुलेन्समार्फत नजिकका अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालित छ । गोताखोरसहितको विशेष उद्धार टोलीसमेत खटिएको बताइएको छ ।
हालसम्म मृतक र घाइतेहरूको सनाखत हुन सकेको छैन । घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
वि.सं.२०८२ फागुन ११ सोमवार ०६:०५ मा प्रकाशित






























