शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ
माया साँच्चै टाढाको जून जस्तै हो
— देखिने, तर छुन्न नसकिने।
आकाश भरि फैलिएको उज्यालो हो
त्यो, जुन आँखामा पर्छ,
तर आत्मामा पग्लँदैन।
मानौं त्यसले हामीलाई हेर्छ,
तर सधैं परकै आकाशबाट।
हामी टोलाउँछौं, पुलकित हुन्छौं,
बिर्सन्छौं कि त्यो हाम्रो पहुँच बाहिरको चीज हो
— एक कल्पनाको भिजन,
एक चुप लाग्दो प्रकाश
जसले रातभर सपना देखाउँछ,
तर बिहान हुनेबित्तिकै हराउँछ।
कहिले काहीँ म सोच्न थाल्छु
— माया यति अग्लो किन लाग्छ?
मानौं भावनाका पाखा–पखेरु हुँदै
म एक्लै कुनै शिखर चढ्दैछु,
जुनलाई त्यत्ति नै बेला बादलले छोपिदिन्छ।
त्यो बादल होइन, त्यो मेरो भ्रम हो,
मेरो छायाँ हो, जुन म मायामा खोज्दैछु।
म जित्न चाहन्छु प्रेमलाई,
तर जति नजिक पुग्छु,
त्यो उति टाढा जान्छ।
जस्तो कि कुनै पागलले
आकाश समात्न हात उठाए जस्तै –
सुन्दर, निरर्थक र कहाली लाग्दो।
मायाले मान्छेलाई चुप गराउँछ
– शब्दलाई पानी बनाउँछ,
आँखालाई आगो।
माया बोल्दैन,
तर गहिरो मौनतामा
हजार गीत गुञ्जन्छन्।
त्यस मौनतालाई बुझ्न सक्नुपर्छ,
नछोई महसुस गर्न सक्नुपर्छ
किनभने माया कहिल्यै अस्त हुँदैन
त्यो सधैं मनमा हुन्छ।
त्यो समय भन्दा बाहिर बाँच्ने चिज हो,
जसलाई घडीले नाप्न सक्दैन,
तर धड्कनले सम्झन्छ।
र त म भन्छु – माया टाढाको जून हो।
हेर्दा मन लोभिन्छ,
बुझ्न खोज्दा मन रुन्छ।
त्यो त्यो कथा हो,
जुन कहिल्यै नलेखिए पनि
सबैले पढेका हुन्छन् –
मौन आँखाबाट,
अधुरो स्पर्शबाट,
र कहिले अन्त्य नहुने
त्यो अमूल्य भाव बाट,
जो गगन भन्दा विशाल छ,
जुन पीडा धरालाई पनि
समाल्न हम्मे हम्मे पर्छ।
माया साँच्चै टाढाको जुन जस्तै हो।
वि.सं.२०८२ फागुन ३० शनिवार ०६:०५ मा प्रकाशित






























