back
CTIZAN AD

घान्द्रुकलाई एक फन्को

वि.सं.२०८३ वैशाख २७ आइतवार

402 

shares

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । करिब दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् ।

देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ लम्बाउन चक्रीय पदमार्ग बनाइएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँको बसपार्कदेखि पञ्चे, कोटगाउँ, बलाचे उद्यान, देउराली, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ब्रेज मेश्रम बराह मन्दिर, नेगो, चिया बगान, डाँडागाउँ हुँदै पुनः बसपार्क आएर पदमार्ग टुङ्गिन्छ ।

चक्रीय पदमार्गको ६० प्रतिशत काम सकिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । समितिको पहलमा तीन वर्षअघि चक्रीय पदमार्ग निर्माण थालिएको थियो । “यस वर्ष नेपाल पर्यटन बोर्डको रु २० लाख बजेटबाट थप काम भइरहेको छ”, अध्यक्ष गुरुङले भने, “चक्रीय पदमार्ग निर्माणमा तीनवटै तहका सरकारको सहयोग छ, स्थानीय दाताहरु पनि जोडिनुभएको छ ।”

घान्दु्रकको नयाँ गन्तव्यका रुपमा चक्रीय पदमार्गलाई स्थापित गर्ने र पर्यटकको बसाइ लम्बाउने उद्देश्यले पूर्वाधारका काम भइरहेको उनकोे भनाइ छ । घान्दु्रक गाउँको सिरानमाथि वनको बाटो हुँदै पदमार्ग अगाडि बढ्छ । पदमार्गका ठाउँठाउँमा उद्यान, विश्रामस्थल, चौतारी आदि निर्माण भइरहेको समितिले जनाएको छ । घान्द्रुकका पर्यटन व्यवसायी अमृत लामा गुरुङले घान्द्रुक आउने पर्यटकलाई छोटो दुरीको पदयात्रा (हाइकिङ)मा निस्कन चक्रीय पदमार्ग उत्तम रहेको बताए ।

“घान्द्रुक बास बसेका पर्यटकहरु भोलिपल्ट बिहान सूर्योदयको अवलोकनसँगै चक्रीय पदमार्ग घुम्न सक्छन्, घान्द्रुक गाउँबाटभन्दा अझ सुन्दर दुश्यालोकन पदयात्राका क्रममा गर्न सकिन्छ, प्रकृतिमा रमाउँदै पदयात्रा गर्न सकिन्छ”, उनले भने । गुरुङ समुदायको आस्थाको धरोहरका रुपमा रहेको मेस्रम बराहको मन्दिर पनि यही मार्गमा पर्ने भएकाले धर्मप्रेमीहरु पनि पदयात्रामा आकर्षित भइरहेको उनकोे भनाइ छ ।

पदमार्ग निर्माणमा हालसम्म झण्डै रु ५३ लाख खर्च भइसकेको समितिले जनाएको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरेर मौलिक शैलीमा पदमार्ग बनाइएको छ । पदमार्ग क्षेत्रमा बलाचे र बुद्ध गरी दुई उद्यान निर्माण पनि अगाडि बढाइएको छ । घान्द्रुकको पर्यटनमा चक्रीय पदमार्गले नयाँ आकर्षण थपेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले बताए ।

घान्द्रुकमा पदमार्गसहित पर्यटकीय पूर्वाधार निर्माण, सामुदायिक सशक्तीकरणलगायत क्षेत्रमा ‘एक्याप’ले सघाउँदै आएको छ । कार्यालय प्रमुख उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये धेरै सङ्ख्यामा भारतीय पर्यटक रहेको बताए । अहिलेको याममा एकैदिनमा आठ सय ५६ जनासम्म विदेशी पर्यटक घान्द्रुकमा भित्रिएको उहाँको भनाइ छ ।
“पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ”, उनले बताए, “सडकको पहँच विस्तारले पनि घान्द्रुकमा आन्तरिक पर्यटकको आउजाउ पछिल्लो समय बढेको हो ।” चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । तीसको दशकदेखि सुरु भएको घान्द्रुकको पर्यटनमा पछिल्लो समय गाउँको मौलिकता जोगाउने चुनौती थपिएको छ ।

पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की भन्ने पिरलो स्थानीय र पर्यटनकर्मीमाझ छ । प्रकृति र संस्कृतिको सङ्गम मानिने घान्द्रुक पहिलेको जस्तो छैन । जीवनशैली फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । सडकले पदमार्ग भत्केका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन पनि आधुनिकताको चेपुवामा परेको छ ।

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको छ । पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् । ३५ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ ।

सयौँले रोजगारी पाएका छन् । पर्यटकीय याममा एकैदिनमा दुई÷तीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच÷छ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।

वि.सं.२०८३ वैशाख २७ आइतवार १३:५४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...