कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्।
आइतबार बिहान निकुञ्ज प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीयको संयुक्त टोलीले खोजी अभियान थालेको हो। घटनापछि नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित निकायले उनीहरूको खोजी कार्य तीव्र पारेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार महिलाहरू नौ र पाँच जनाको दुई समूह बनाएर मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र च्याउ टिप्न प्रवेश गरेका थिए। तर साँझसम्म पनि उनीहरू घर नफर्किएपछि र सम्पर्क हुन नसकेपछि परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए।
निकुञ्जको जंगल क्षेत्रमा खोजी अभियान जारी रहे पनि समाचार तयार पार्दासम्म उनीहरूको अवस्था खुल्न सकेको छैन। उनीहरू हराएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी परिचालन गरी सम्भावित स्थानहरूमा खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र खोजी अभियान निरन्तर जारी रहेको जनाइएको छ।
वि.सं.२०८३ साउन ४ सोमवार १३:०५ मा प्रकाशित






























