काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष दर्ता भएका २९८ पुस्तक मध्ये मूल्याङ्कनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट गरिएका हुन्।
श्रेष्ठ सूचीमा परेका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी)को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् ।
मदन पुरस्कार गुठीले वि।सं। २०७२ देखि पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्ये बढीमा १० कृति छनोट गरी ‘श्रेष्ठ सूची’ सार्वजनिक गर्ने परम्परा अपनाउँदै आएको छ। यस सूचीमा परेका कृतिमध्ये एकलाई संवत् २०८२ को मदन पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
वि.सं.२०८३ साउन ४ सोमवार १५:१४ मा प्रकाशित






























