काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र फरक–फरक ह्विप जारी भएपछि पार्टीभित्रको विवाद पुनः सतहमा आएको छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेसँगै राप्रपाका प्रमुख सचेतक र संसदीय दलका नेताले विपरीत निर्देशन जारी गरेका हुन्। यससँगै बागमती प्रदेशसभामा राप्रपाका सांसदहरू कुन पक्षमा उभिन्छन् भन्ने चासो बढेको छ।
राप्रपाको केन्द्रीय नीतिअनुसार प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेकी छन्। तर राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहितको समूह भने मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने तयारीमा देखिएको छ।
उद्धव थापा पार्टीको कारबाहीमा समेत परेका नेता हुन्। उनले आफूलाई संसदीय दलको नेताकै हैसियतमा प्रस्तुत गर्दै कुमारी तामाङलाई प्रमुख सचेतकबाट हटाएर डम्बर तामाङलाई नयाँ प्रमुख सचेतक बनाएका छन्। त्यसपछि डम्बर तामाङमार्फत मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरिएको हो।
राप्रपा स्रोतका अनुसार हालसम्म करिब पाँच जना सांसद मुख्यमन्त्री थापाको पक्षमा खुल्ने सम्भावना रहेको छ। संसदीय दलमा बहुमत जुटाउन सके उद्धव थापा पक्षले थप राजनीतिक निर्णय लिन सक्ने सम्भावनासमेत रहेको स्रोतको दाबी छ।
तर पार्टीको केन्द्रीय निर्देशनविपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गरेमा सम्बन्धित सांसदहरूमाथि पार्टी कारबाही हुनसक्ने सम्भावना छ। ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरे सांसद पदसमेत गुम्न सक्ने अवस्थाबारे राप्रपाभित्र चर्चा भइरहेको छ।
मुख्यमन्त्री किरण थापा एमाले र नेकपा गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। सरकार गठनका क्रममा आवश्यक समर्थन जुटाउन राप्रपाका सांसदहरूको समर्थन निर्णायक बनेको थियो। तर पार्र्टी अहिले एउटै स्पष्ट निर्णय लिन नसक्दा राप्रपाभित्रै देखिएको दुई फरक धारका कारण मुख्यमन्त्रीले विश्वासको मत लिँदा राप्रपाका सांसदहरूबीच ‘फ्लोर क्रस’को अवस्था आउन सक्ने सम्भावना बढेको छ।
मुख्यमन्त्री थापाको पक्षमा राप्रपाभित्र एउटा समूह खुलेसँगै विवाद प्रदेशको सत्ता समीकरणमा मात्र सीमित नरही पार्टीको आन्तरिक शक्ति संघर्षसँग समेत जोडिएको देखिएको छ।
मन्त्री बनेका तीन सांसदलाई स्पष्टीकरणको पत्र
मुख्यमन्त्री थापालाई समर्थन गरेपछि राप्रपाबाट राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङ मन्त्री बनेका छन्। उनीहरूलाई राप्रपाको केन्द्रीय अनुशासन समितिले १२ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको बताइएको छ।
पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको विषयमा कारबाहीको तयारीस्वरूप स्पष्टीकरण सोधिएको राप्रपा स्रोतको भनाइ छ।
वि.सं.२०८३ भदौ ८ सोमवार १३:४२ मा प्रकाशित






























