काठमाडौं । अब वस्तु तथा सेवा खरिद गर्दा बिल लिने बानीले कर तिर्ने संस्कृतिलाई मात्र होइन, तपाईंको भाग्य पनि बदल्न सक्छ। सरकारले बिल लिने संस्कृतिलाई प्रवर्द्धन गर्न दैनिक तथा पाक्षिक नगद उपहार योजना सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जना भाग्यशाली उपभोक्ताले जनही १० लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्नेछन्। अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै यो योजना लागू गरेको हो।
मन्त्रालयका अनुसार कर प्रणालीलाई थप प्रभावकारी बनाउने, वस्तु तथा सेवाको वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यविधिअनुसार नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले कार्यक्रममा सहभागी हुन सक्नेछन्।
डिजिटल माध्यमबाट गरिएको योग्य भुक्तानी स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा दर्ता हुनेछ र प्रत्येक योग्य कारोबारबापत एउटा उपहार टिकट प्राप्त हुनेछ। नगद वा अन्य माध्यमबाट खरिद गर्ने उपभोक्ताले भने विभागको वेबसाइट वा मोबाइल एपमार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम तथा मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। तर व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा, हवाई टिकट तथा प्यान नम्बर नभएका विक्रेताबाट लिइएका बिल भने उपहार योजनामा समावेश हुने छैनन्।
विभागीय प्रणालीबाट स्वचालित रूपमा विजेता छनोट गरिनेछ र पारदर्शिता सुनिश्चित गर्न विभिन्न निकायका प्रतिनिधि, उच्चपदस्थ व्यक्ति तथा सञ्चारकर्मीको उपस्थितिमा विजेता छनोट गर्न सकिने व्यवस्था गरिएको छ। प्रत्येक महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्म भएका कारोबार र प्रत्येक महिनाको १६ गते सोही महिनाको १ गतेदेखि १५ गतेसम्म भएका कारोबारबाट पाक्षिक बम्पर विजेता छनोट गरिनेछ।
विजेता घोषणा भएपछि विभागले मोबाइल नम्बर र इमेलमार्फत जानकारी दिनेछ भने विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि नाम सार्वजनिक गरिनेछ। उपहार प्राप्त गर्न विजेताले घोषणा भएको १५ दिनभित्र सक्कल बिल, नागरिकता वा राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजात, बैंक खाताको विवरण तथा प्यान नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ।
उपहार रकममा आयकर ऐन, २०५८ को दफा ८८क बमोजिम २५ प्रतिशत कर कट्टी गरिनेछ र आवश्यक कागजात प्रमाणीकरण भएपछि विभागले १० दिनभित्र विजेताको बैंक खातामा रकम जम्मा गर्नेछ। तोकिएको अवधिभित्र कसैले पनि उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था कार्यविधिमा गरिएको छ।
वि.सं.२०८३ साउन ५ मंगलवार ११:३१ मा प्रकाशित






























