काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान इच्छुक नेपालीका लागि सन् २०२६ को पहिलो चरणको कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ। ईपीएस कोरिया शाखाले आवेदन दर्तासम्बन्धी सूचना सार्वजनिक गर्दै यसपटक कुल ७ हजार २ सय जना श्रमिक छनोट गरिने जनाएको हो। त्यसमध्ये उत्पादन क्षेत्रमा ६ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १ हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जना गरी कुल ७ हजार २ सय जनाको माग आएको हो।
सूचनाअनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) तथा कृषि–पशुपालन क्षेत्रका लागि श्रमिक छनोट गरिनेछ। आवेदन अनलाइन प्रणालीमार्फत तोकिएको अवधिभित्र भर्न सकिनेछ भने उम्मेदवारले ईपीएसले तोकेका उमेर, स्वास्थ्य, आपराधिक अभिलेख तथा अन्य योग्यता पूरा गरेको हुनुपर्नेछ।
भाषा परीक्षामा सफल उम्मेदवारले आवश्यक प्रक्रियापछि सीप परीक्षण (स्किल टेस्ट) मा सहभागी हुने अवसर पाउनेछन्। अन्तिम छनोटमा परेका उम्मेदवारलाई रोजगारदाताको मागअनुसार दक्षिण कोरियामा रोजगारीका लागि पठाइने व्यवस्था रहेको ईपीएस शाखाले जनाएको छ।
आवेदन साउन ११ गते ९जुलाई २७० देखि साउन २७ गते ९अगस्ट १२० सम्म अनलाइनमार्फत भर्न सकिनेछ। इच्छुक उम्मेदवारले https://eoers.epsnepal.gov.np मा गई आवेदन दिन सक्नेछन्।
ईपीएस कोरिया शाखाका अनुसार Point Based Selection System (PBSS) लागू हुनेछ भने भाषा परीक्षा (EPS-TOPIK) मा प्राप्त अंकका आधारमा उम्मेदवार छनोट गरिनेछ। भाषा परीक्षामा सफल भएकाहरूले सीप परीक्षण (Skill Test) र Job Capacity Assessment समेत दिनुपर्नेछ। अन्तिम छनोट यी सबै चरणको मूल्यांकनपछि गरिनेछ।
आवेदन दिने उम्मेदवार शारीरिक तथा मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्ने, रंग छुट्याउन नसक्ने समस्या नभएको, दक्षिण कोरिया प्रवेशमा कानुनी प्रतिबन्ध नलागेको तथा ईपीएसका अन्य मापदण्ड पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
पुरा सूचना पढुन यहाँ क्लिक गर्नुहोला ।
वि.सं.२०८३ साउन ५ मंगलवार १२:१० मा प्रकाशित





























