काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ ’इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार नयाँ प्रविधिको प्रयोगसँगै अब व्यापारी तथा ग्राहकहरूले क्युआर कोडमार्फत भुक्तानी गर्दा रकम प्राप्त भएको जानकारी भ्वाइस मार्फत तुरुन्तै सुन्न सकिन्छ। यसले गर्दा प्रत्येक कारोबारपछि मोबाइल वा स्क्रिन चेक गरिरहनुपर्ने झन्झट अन्त्य हुन्छ ।
बैंकले विभिन्न वर्गका प्रयोगकर्ताहरूलाई सहज होस् भन्ने हेतुले यो उपकरणमा ५ वटा भाषामा भुक्तानीको जानकारी प्राप्त हुने सुविधा राखिएको छ । साथै, यो डिभाइस फोन पे क्युआर र नेपाल पे क्युआर दुवै प्रणालीका लागि सर्वसुलभ रूपमा सञ्चालन गर्न सकिने गरी तयार पारिएको छ। प्रयोग गर्न अत्यन्तै सरल र सुरक्षित रहेको यो उपकरणले डिजिटल कारोबारलाई अझ विश्वसनीय बनाउन मद्दत पु¥याउनेछ ।
विशेषगरी व्यापारिक स्थलमा ग्राहकको भिडभाड रहेको समयमा पनि रकम खातामा जम्मा भएको खबर तुरुन्तै सुनेर पुष्टि गर्न सकिन्छ। साना तथा मझौला व्यवसायीहरूका लागि यो डिभाइस निकै उपयोगी हुने विश्वास लिइएको छ ।
थप विवरण वा सेवासम्बन्धी जानकारीका लागि नबिल बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००१५ वा इमेल मार्फत सम्पर्क गर्न सकिन्छ ।

वि.सं.२०८३ साउन ६ बुधवार ११:५८ मा प्रकाशित





























