काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय सांसद डा. अमरेशकुमार सिंहले मधेशमा शान्ति, सद्भाव र विकासलाई प्राथमिकता दिन सबै मधेशवासीसँग अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा उनले पटकपटक भएका आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशलाई अशान्त बनाउनुका साथै विकासको गतिलाई वर्षौँ पछाडि धकेलेको बताएका छन्। यस्ता गतिविधिका कारण भौतिक पूर्वाधारमा क्षति पुग्ने, शैक्षिक सत्र प्रभावित हुने तथा व्यापार–व्यवसाय ठप्प हुँदा समग्र मधेश नै मारमा पर्ने उनले उल्लेख गरेका छन्।
सांसद सिंहले अब सबै वर्ग र समुदाय एकजुट भएर समुन्नत मधेश निर्माणको साझा एजेन्डामा अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। उनले हिंसात्मक गतिविधिभन्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीजस्ता दीर्घकालीन विकासका क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सम्पूर्ण मधेशवासी आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीलाई समाजमा शान्ति र सद्भाव बिथोल्ने कुनै पनि असामाजिक तत्वको पछि नलाग्न आग्रह गरेका छन्। समाजमा विभाजन र हिंसा फैलाउने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेशको विकासका विरोधी भएको बुझ्नुपर्ने र त्यस्ता गतिविधिको सामाजिक रूपमा प्रतिरोध गर्नुपर्ने उनको भनाइ छ।
सिंहले शान्ति, एकता र आपसी सद्भाव कायम राख्दै विकासमुखी अभियानमा सबैको सहभागिता आवश्यक रहेको पनि बताएका छन्।
वि.सं.२०८३ साउन १४ बिहीवार १०:५८ मा प्रकाशित






























