काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई फाइदा पुग्ने गरी सिन्डिकेट बनाउन खोजिएको भन्ने चर्चाप्रति युवा, श्रम तथा रोजगार मन्त्रालयले औपचारिक स्पष्टिकरण दिएको छ। मन्त्रालयले यस्ता समाचार तथ्यमा आधारित नभएको दाबी गर्दै वैदेशिक रोजगार प्रणालीलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र श्रमिकमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ।
सोमबार मन्त्रालयका प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्ला केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई समेत जोडेर मलेसिया रोजगारीका लागि निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट गराउने प्रयास भइरहेको भन्ने समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
मन्त्रालयले कुनै पनि व्यवसायी वा समूहको एकाधिकार स्थापित हुने अवस्था आउन नदिने स्पष्ट गर्दै वैदेशिक रोजगारीलाई निष्पक्ष, प्रतिस्पर्धी र पारदर्शी बनाउने नीतिमा सरकार दृढ रहेको जनाएको छ। नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका साथै सूचना प्रविधिको प्रयोग विस्तार गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार सुधारका प्रयासलाई कमजोर पार्ने उद्देश्यले फैलाइएका अफवाह र भ्रमपूर्ण सूचनामा विश्वास नगर्न सबै सरोकारवालासँग आग्रह गरिएको छ। मलेसियासँग सम्बन्धित विषयमा हालसम्म गन्तव्य मुलुकबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको भन्दै मन्त्रालयले यस सम्बन्धमा सार्वजनिक भइरहेका कतिपय दाबी तथ्यमा आधारित नरहेको जनाएको छ।
विज्ञप्तिमा नेपाल र मलेसियाबीच कूटनीतिक समन्वयमार्फत वैदेशिक रोजगार प्रणालीलाई थप व्यवस्थित, नैतिक र प्रतिस्पर्धी बनाउने प्रयास निरन्तर जारी रहेको उल्लेख गरिएको छ। साथै, श्रमिक र रोजगार व्यवसायीबीच अनावश्यक अन्योल सिर्जना हुने गरी अपुष्ट सूचना तथा आधारहीन समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सम्बन्धित सबै पक्षलाई मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रको सुधारमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सत्यतथ्यमा आधारित सूचना प्रवाहमार्फत मात्रै श्रमिकको हित र रोजगार प्रणालीप्रतिको विश्वास कायम रहन सक्ने जनाएको छ।

वि.सं.२०८३ साउन १८ सोमवार १२:०९ मा प्रकाशित





























